काठमाडौ । तनहुँ भानु नगरपालिका–८ बगालेगाउँकी २४ वर्षीया रचना रेग्मी मम्प्स (घाँटीमा डल्लो आउने) रोगबाट पीडित भइन् । एक त गर्भवती अवस्थामा त्यसमाथि घाँटीमा डल्लो पलाएपछि निकै पीडा भयो । राजधानीका १ निजी र २ सरकारी अस्पताल पुग्दा पनि निको भएन । त्यसपछि निकै निराश बनेकी रेग्मी आफन्तको सहयोगले नेपाल प्रहरी अस्पताल पुगिन् । यहाँ आएपछि निकै सुधार भएको र अस्पतालको सेवा धेरै राम्रो रहेको प्रतिक्रिया दिँदै उनले भनिन्, ‘कुनै पनि अस्पतालले जोखिम लिन चाहेनन् अनि यता आएर उपचार सुरु गरियो, अहिले धेरै राम्रो भएको छ ।’
नेपाल सरकार मन्त्रीपरिषद्को २०७४ जेठ ४ गतेको निर्णयले २०७४ कात्तिक २६ गतेबाट प्रहरी अस्पतालमा औपचारिक रुपमा नागरिकको लागि स्वास्थ्य उपचार सेवा प्रदान गर्न थालिएको हो । यसअघि प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र तिनका परिवारको मात्र उपचार हुँदै आएको थियो । अस्पतालमा हाल आकस्मिक, वहिरङ, अन्तरङ (बेड भर्ना), प्याथोलोजी, रेडियोलोजी, आइसियु, हेमोडायलाइसिस र सर्जरी लगायतका सेवा प्रदान गरिन्छ ।
उपचार लिने आउने नागरिकको संख्या ह्वात्तै बढेबाट पनि नेपाल प्रहरी अस्पतालको स्वास्थ्य सेवाप्रति नागरिकको आकर्षण बढेको पुष्टी हुन्छ । सेवा सुरूवातदेखि बैशाख मसान्तसम्म कूल १० हजार ३ सय ५९ जना नागरिकले सेवा प्राप्त गरेका छन् । अस्पतालमा डेन्टलतर्फ १ हजार ३ सय ६३, नाक(कान(घाँटीतर्फ ७ सय ६, इमरजेन्सीतर्फ २ सय ९३, आँखातर्फ ४ सय ६६, मेडिसिनतर्फ १ हजार ८ सय २६, नेफ्रोतर्फ ९६ जना, न्यूरोतर्फ ७ जनाले सेवा लिएका छन् । यसैगरी गाइनोतर्फ ९ सय ६९, अर्थोपेडिकतर्फ १ हजार २ सय ३४, बालरोगतर्फ २ सय ३५, मानसिकतर्फ १ सय ६६, छालारोगतर्फ ७ सय ४०, सर्जिकलतर्फ ७ सय ५०, ल्याब्रोटरीतर्फ २ हजार ७०, फिजियोथेरापीतर्फ ५ सय ५६ जना, रेडियोलोजीतर्फ २ हजार, ९ सय २६ जना सेवाबाट लाभाञ्वित भएका छन् । साथै अन्तरंगसेवातर्फ जनरल वार्डमा १ सय ३७ र आइसियूतर्फ २८ गरी जम्मा १ सय ६५ जनाले बेड भर्ना भई उपचार सेवा प्राप्त गरेका छन् ।
पूर्व तथा बहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई स्वास्थ्य सेवा पुर्याूउने उद्देश्यले २०४० चैत २६ गते अस्पतालको स्थापना भएको हो । अहिले अस्पतालको सेवा वृहद स्वरुपतर्फ फैलँदो छ । सुरुमा २५ शैयाबाट सेवा प्रारम्भ भएको अस्पतालमा हाल १ सय ५० शैया छन् । ३ सय शैयाको अत्याधुनिक अस्पताल बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालको सेवा विस्तार र गुणस्तर वृद्धिका सम्बन्धमा अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा भन्छिन्, ‘अस्पतालको ल्याव अन्तर्राष्ट्रिय आइएसओ स्टायाण्डर्डको छ । वरिष्ठ चिकित्सकहरूबाट स्तरीय सेवा उपलब्ध गराइन्छ । उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल कटिबद्ध छ । यसका लागि अन्य अस्पतालबाट विशेषज्ञ चिकित्सक ल्याएर समेत सेवा प्रदान गरिन्छ ।’
प्रहरी अस्पतालमा चिकित्सक, नर्स र अन्य कर्मचारी समेत गरी प्राविधिकतर्फ ५ सय ३६ र प्रशासनतर्फ १ सय ६ जना गरी जम्मा ६ सय ४२ जना प्रहरी कर्मचारी कार्यरत छन् । मानव स्वास्थ्य जस्तो संवेदनशील र अपरिहार्य सेवा आधुनिकतातिर उन्मुख छ । अस्पतालको सेवालाई गुणस्तरीय बनाउने पहल हुँदै आएको छ । यसका लागि सीमित दक्ष जनशक्ति र बजेटको परिधि जस्ता चुनौती छन् । यस्ता चुनौती सामना गर्दै उपचार सेवा थप भरपर्दो र स्तरीय बनाउने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता र सूचना अधिकारी प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए ।
प्रहरी कर्मचारी र तिनका परिवारको स्वास्थ्यको धरोहर बन्दै आएको प्रहरी अस्पताल अब नागरिकको समेत आशाको केन्द्र बनेको छ । अस्पतालबाट स्वास्थ्य सेवा पाउँदा नागरिक खुसी छन् । अस्पतालको उपचार शुल्क सामान्य नागरिकको पहुँचमा छ । अन्य सरकारी अस्पताल सरह र कुनै त त्यो भन्दा पनि थोरै शुल्कमा अस्पतालले सेवा दिइरहेको मेडिकल डाइरेक्टर डा. थापाको भनाइ छ ।