काठमाडौं । दाङ, बारा र महोत्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१० अमराई स्थित सडकमा रा.२ प ५९९७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सोही उपमहानगरपालिका सौटीकुला बस्ने कमला सुनारको छोरी ६ वर्षीया शान्ता सुनारको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको छ । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-३ डम्मरगाउँस्थित सडकमा रा.१ क ६९० नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने लाल बहादुर बिकको छोरा १ वर्षीय राज कुमार बिकलाई उपचारको लागि कोहलपुर बाँकेतर्फ लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.७ ख २०२ नम्बरको बसले ना.५५ प ६४४१ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडा बस्ने ५८ वर्षीय उदयराज सापकोटाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मृतकको श्रीमती ४० वर्षीया दुर्गा सापकोटालाई उपचारको लागि सिमरास्थित अल्पाइन अस्पताल लगिएकोमा थप उपचारको लागि बयोध्या अस्पताल वीरगंज रिफर गरिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी, महोत्तरी गाउँपालिका-२ महोत्तरी गाउँस्थित सडकमा ज.१ त २२३४ नम्बरको ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ डेरा गरी बस्ने जलेश्वर नगरपालिका-३ घर भएका रबिन्द्र कुँवरको छोरी ३ वर्षीया सोनी कुमारी कुँवरको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको छ । फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।