काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
सिराहा, नरहा गाउँपालिका-३ चिनिमिलस्थित सडकमा स.१ त २७४८ नम्बरको ट्याक्टर र ज.५ प ८२५५ नम्बरको मोटरसाइकल मंगलबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोलबजार नगरपालिका-७ बस्ने २० वर्षीय आदर्श महराको उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नरहा गाउँपालिका-३ खोरीया टोल बस्ने १७ वर्षीय रुपेश महराको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिई हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।
रौतहट, गरुडा नगरपालिका-८ स्थित सडकमा बा.२ ख ६३८४ नम्बरको यात्रुवाहक बसले साइकललाई मंगलबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री सोही नगरपालिका-९ गम्हरिया बस्ने ४५ वर्षीय तेजनारायण पण्डितलाई उपचारको लागि हेल्थ ल्याण्ड अस्पताल गरूडा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस नियन्त्रणमा लिई फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-४ लंकुस्थित सडकमा ना.६२ प ५९५ नम्बरको मोटरसाइकल मंगलबार राति अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-४ बस्ने २४ वर्षीय दिपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय प्रदिप बस्नेतको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।