काठमाडौं । म्याग्दी, कैलाली, बाजुरा,पर्सा र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
म्याग्दी, मालिका गाउँपालिका-७ बिमस्थित सडकमा ग.१ ख ४४७६ नम्बरको बस सडकदेखि करिब २ सय मिटर तल खस्न गई आइतबार साँझ दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने ७० वर्षीया सतदेबी भट्टचन, ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रबी जुग्जाली र गुल्मी कालिगण्डकी गाउँपालिका-२ अर्बेनी बस्ने ३० वर्षीय बिष्णु पाण्डे रहेका छन् ।
दुर्घटनामा घाइते भएका २९ जनामध्ये हाल जिल्ला अस्पताल म्याग्दीमा १० जना र मणीपाल अस्पताल पोखरामा ५ जनाको उपचार भइरहेको छ भने १४ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । बस चालक म्याग्दी मंगला गाउँपालिका-१ कुहुँ बस्ने ३६ वर्षीय टेक बहादुर सार्कीलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गमा भे.१ ख १७३२ नम्बरको बसले से.३ प ६३७६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय राज बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीय मान बहादुर चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाजुरा, बुढिगंगा नगरपालिका-६ बाम्कास्थित सडकमा साइकल दुर्घटनामा परी आइतबार दिउँसो साँफेबगर नगरपालिका-६ घर भएका पूर्ण सुनारको १४ वर्षीय छोरा अनिल सुनारको मृत्यु भएको छ । साईकल चलाउन सिकिरहेको अवस्थामा साईकलसँगै सडक छेउको पहिरो गएको स्थानबाट करिब १ सय ५० मिटर तल खस्दा गम्भीर घाइते भएका अनिलको बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा मृत्यु भएको हो ।
पर्सा, जगन्नाथपुर गाउँपालिका-६ स्थित सडकमा ना.३३ प २९४७ नम्बरको मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सडक छेउमा रहेको गाउँपालिकाको बोर्डमा ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २१ वर्षीय रबिन्द्र पासवानको नारायणी अस्पताल बीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
कपिलवस्तु, यशोधरा गाउँपालिका-५ मुडिलास्थित सडकमा युपी ५५ ए ए ४७८५ नम्बरको मोटरसाइकल बाटोको साईडमा रोकी राखेको आरजे १४ जिजे ०८४० नम्बरको टेलर ट्रकमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कपिलबस्तु नगरपालिका-५ शिवापुरुवा बस्ने २३ वर्षीय बाहेतु यादवको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार तथा अनुसन्धान गरिरहेको छ ।