काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बिहीवार नेपालगञ्ज उपमहानगरपालिका–२० बाट पेस्तोल र गोलीसहित नेपाल तरुण दलका एक नेतालाई पक्राउ गरेको छ । तरुण दलको नेपालगञ्ज नगर अध्यक्ष समेत रहेका निर्माण व्यवसायी सन्दीपजंग साहलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा साहसहित दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगर रहेका छन् । उनीहरुको साथबाट मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल थान–१, लोड भएको गोली २ राउण्ड र म्याग्जिन २ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
सोही ठाउँस्थित नमस्ते भिलेज रिसोर्टभित्र पार्किङ गरी राखेको निज साहको बा.१८ च ४२११ नम्बरको कार इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त कारको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाल तरुण दलले भने साहको साथबाट बरामद भएको भनिएको हतियार प्रहरीकै भएको दाबी गरेको छ । प्रहरीले झुठा बहाना बनाएर शाहलाई फसाउन खोजेको तरुण दलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आरोप लगाएको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले साहको साथबाट बरामद भएको भनिएको हतियारको फिंगर प्रिन्ट जाँच गर्न माग गरेका छन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘निर्दोष तरुण नेतालाई पक्राउ गरी फसाउन झुठा प्रपन्च रच्ने षड्यन्त्रकारी प्रहरीहरुलाई हदैसम्मको कारबाही गर्न, बरामद गरिएको भनिएको हतियारमा फिंगर प्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल तरुण दल जोडदार माग गर्दछ ।’
