काठमाडौं । पाल्पा, सिराहा, सुनसरी, लमजुङ, बारा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
पाल्पा, रिप्दीकोट गाउँपालिका-२ जोर्तेमा ना.४ ख १७०० नम्बर र लु.१ ख ९२०२ नम्बरका ट्रक एकआपसमा ठोकिएर शुक्रबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका लु.१ ख ९२०२ नम्बरको ट्रकमा सवार गुल्मी सत्यवती गाउँपालिका-३ ठुलोलुम्पेक बस्ने ३९ वर्षीय हिमकुमार कुँवरको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका लु.१ ख ९२०२ नम्बरको ट्रकमा सवार चालकसहित ६ जना र ना.४ ख १७०० नम्बरको ट्रकका चालकको जिल्ला अस्पताल तानसेनमा उपचार भइरहेको छ ।
सिराहा, गोलबजार नगरपालिका-४ मैनावती पुलस्थित सडकमा प्रदेश २-०२-००१ त ०४४६ नम्बरको ट्याक्टरले स.११ प ४६३७ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-१२ बस्ने १८ वर्षीय दुर्गेश मुखियाको भुमिजा अस्पताल गोलबजार हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, दुहवी नगरपालिका-२ स्थित सडकमा को.१ ख ५६७२ नम्बरको बसले स.७ प ७२३८ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका-१३ घर भएका २८ वर्षीय सुजन रेग्मीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मोरङ घर भएका २८ वर्षीय किरण कठेतको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लमजुङ, राइनास नगरपालिका-१० पात्लेपानीमा ना.५ त ७१८२ नम्बरको ट्याक्टर शुक्रबार राति सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याकटरमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय गोफ्ले कामीको स्थानीय अस्पताल हुँदै थप उपचारको लागि चितवन मेडिकल कलेजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, निजगढ नगरपालिका-१ सिंगौलमा ना.६ त ९६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २६ वर्षीय दासा गुरौको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार निजगढ नगरपालिका सिगौंल बस्ने ३५ वर्षीय कृष्ण परियारको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-७ दुवाचौरमा शनिबार दिउँसो बा.५ ख २९५४ नम्बरको मिनीट्रकको ठक्करबाट सोही ठाउँ बस्ने कृष्ण श्रेष्ठको १३ वर्षीय छोरा राजन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।