काठमाडौं । बारा, रौतहट, पर्सा, चितवनका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-१६ ब्राह किलोस्थित सडकमा ना.६ ख ५६१८ नम्बरको ट्रकले बा.३५ प ४२२९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सर्लाही वरहथवा नगरपालिका-५ बस्ने २१ वर्षीया ऋतिका काफ्लेको घट्नास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका बुबा ४५ वर्षीय निरु प्रसाद काफ्ले र उनको ९ वर्षीय छोरा निश्चल काफ्लेको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, चन्द्रपुर नगरपालिका-४ च:पुरस्थित सडकमा ना.३ त १९७० नम्बरको ट्याक्टरको टेलरबाट लडेर सोही टेलरले किच्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ६१ वर्षीय महेन्द्र चौधरीको चन्द्रपुर अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्सा, वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित सडकमा ना.४४ प ९९६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बारा जितपुर सिमरा उपमहानगरपालिका-३ नरबस्ती बस्ने ४० वर्षीय राज कुमार बिकको तराई अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
चितवन, भरतपुर महानगरपालिका-९ पारस बसपार्कस्थित सडकमा ना.६ ख ८२०८ नम्बरको ट्रकले ना.१३ प ६७०३ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका-४ बस्ने २० वर्षीय भविस केसीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।