काठमाडौं । चितवन, कैलाल र कञ्चनपुरमा भएका बिभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
चितवन, रत्ननगर नगरपालिका-३ तरकारी चोक नजिक हाल नम्बर नखुलेको सवारी साधनले सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुषको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
कैलाल, गोदावरी नगरपालिका-९ खुटीयास्थित सडकमा से.३ प ६०६ नम्बरको मोटरसाइकलले सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्रीलाई चुरे गाउँपालिका-३ बस्ने ६६ वर्षीय रामचन्द्र आचार्यको पदमा अस्पताल अत्तरिया कैलाली हुँदै थप उपचारका लागि नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कैलाली लम्कीचुहा नगरपालिका-९ बस्ने ३८ वर्षीय विषराम चौधरीको कोहलपुर मेडिकल कलेजमा र मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-९ बस्ने ४० वर्षीय लक्ष्मण चौधरीको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।
कञ्चनपुर, बेल्डाँडी गाउँपालिका-३ बैवाहस्थित सडकमा म.२ प ९९६० नम्बरको मोटरसाइकल सोमबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ३५ वर्षीय हंशु खडकाको घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।