काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ६४औं प्रहरी दिवस २०७६ का अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्याउने विभिन्न महानुभावहरु, उत्कृष्ट लेखकहरु, नेपाल प्रहरी स्मारक गुठीको आजीवन सदस्यता प्राप्त गर्ने प्रहरी अधिकृतहरुलाई कदरपत्र तथा पुरस्कार वितरण गरे ।
प्रहरी महानिरीक्षक खनालले उत्कृष्ट कार्य गर्ने प्रहरी नायव निरीक्षक दिपेन्द्र बहादुर चन्दलाई पूर्ण शान्ति पुरस्कार र नगद एवम् साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी नायव निरीक्षक कमल विक्रम विष्टलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गरे । साथै विपद उद्धारमा उत्कृष्ट कार्यमा गर्ने प्रहरी कर्मचारीहरु प्रहरी हवल्दारद्वय मानसिंह ठगुन्ना र वेदकुमार अर्याललाई पुरस्कार प्रदान गरे ।
प्रहरी महानिरीक्षक खनालले उत्कृष्ट व्यवस्थापकीय कार्य गर्ने प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा र प्रहरी उपरीक्षक चन्द्र कुबेर खापुङ, उत्कृष्ट प्राविधिकतर्फ प्रहरी निरीक्षक भुलाराज खनाल, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी निरीक्षक पंच कुमार बाखु, उत्कृष्ट अनुसन्धान सहयोगी प्रहरी जवान रामकृष्ण आचार्य, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी नायव उपरीक्षक सुनिल जंग शाह, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी उपरीक्षक तारा देवी थापा, उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी हवल्दार गोकुल बहादुर कुँवर, उत्कृष्ट महिला खेलाडीतर्फ प्रहरी हवल्दार लक्ष्मी वन र उत्कृष्ट पुरुष खेलाडीतर्फ प्रहरी जवान कुल बहादुर थापा एवम् विभागिय नीति निर्देशन अन्तर्गत रही व्यवसायिक र अनुशासित तवरले सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्ने प्रहरी उपरीक्षक दिनेश राज मैनाली, प्रहरी निरीक्षक हिरेन्द्र बहादुर रोकाया, प्रहरी नायव निरीक्षक सनम राई र प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीलाई उनले प्रशंसापत्र प्रदान गरे ।
यसैगरी अन्तर जिल्ला कार्यदक्षता मूल्याङ्कनतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी उपरीक्षकहरु ह्रदय थापा, बसन्त रजौरे र विश्व अधिकारीलाई समेत प्रहरी महानिरीक्षक खनालले पुरस्कृत गरे ।
प्रहरी महानिरीक्षक खनालले प्रहरीलाई विभिन्न स्थानमा निःशुल्क जग्गा प्रदान गर्ने नागरिकहरु रौतहटका रतन साह, रौतहटकी स्वर्गीय पासपतिया देवी साहका प्रतिनिधि, बाँकेकी मायावती मुराउ र डोल्पाका पाल्चाङ लामालाई कदरपत्र प्रदान गरे ।
साथै प्रहरी अनुसन्धानमा सहयोग पुर्याउने नागरिकहरु सुर्खेतका हर्क बहादुर बुढा र संखुवासभाका योगेन्द्र राई प्रहरी कार्यमा सहयोग गर्ने नेपाल फर्मास्युटिकल प्रालि ललितपुर, आसरा सुधार केन्द्र पानवारी धरान निर्माण समिति, उद्योग वाणिज्य संघ दार्चुला, रेडियो नेपाल काठमाडौं र नेपाल टेलिभिजन काठमाडौं, प्रहरी कार्यमा सहयोग गर्ने नागरिकहरु चितवनका रामप्रसाद सुवेदी, सर्लाहीका सुब्बा खत्री, चितवनका राजु श्रेष्ठ, धनुषाका अमरचन्द्र अनिल र पर्साका राजन श्रीवास्तवलाई समेत पुरस्कार प्रदान गरे ।
प्रहरी महानिरीक्षक खनालले समुदाय-प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्ने उत्कृष्ट प्रहरी कर्मचारीतर्फ प्रहरी वरीष्ठ उपरीक्षक उमेश राज जोशी र प्रहरी उपरीक्षक राजकुमार बैदवार, नागरिकतर्फ नुवाकोटका उत्सव अर्याल, पश्चिम नवलपरासीकी रसना ढकाल, जाजरकोटका रमेश सिंह र काठमाडौंका मनोज नेवा खड्गी तथा शैक्षिक संस्थातर्फ राजश्री गुरुकुल स्कुल भक्तपुर, त्रिभुवन माध्यामिक विद्यालय दैलेख, स्थानीय तहतर्फ काठमाडौं महानगरपालिका, गौर नगरपालिका रौतहट र सम्मरीमाई गाउँपालिका रुपन्देही, संघ/संस्थातर्फ रेडियो बाजुरा, एवम् पूर्व प्रहरी कर्मचारीहरुतर्फ पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोविन्द प्रसाद थापा, पूर्व प्रहरी उपरीक्षक ध्रुव रत्न हाडा, पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठ, पूर्व प्रहरी निरीक्षक सन्तोष पन्त र पूर्व प्रहरी नायव निरीक्षक तारा प्रसाद अधिकारीलाई कदरपत्र प्रदान गरे ।
यसैगरी प्रहरी महानिरीक्षक खनालले प्रहरी द्वैमासिक प्रकाशन २०७५ मा प्रकाशित उत्कृष्ट व्यावसायिक लेख रचनामध्ये प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक हरिहरनाथ योगी र नागरिकतर्फ विन्दु अधिकारी ढकाललाई सम्मानपत्र र नगद सहित प्रहरी द्वैमासिक सम्मान प्रदान गरे ।
६४औं प्रहरी दिवस २०७६ को अवसरमा संचालित अन्तर विद्यालय साहित्य लेखन निबन्ध प्रतियोगितामा प्रथम हुने बिजयश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय छाउनीकी सीमा भट्ट, द्धितीय हुने लिटिल एन्जल्स स्कूल हात्तिवन ललितपुरकी अलका पाण्डे र तृतीय हुने सिद्धार्थ बनस्थली ईन्स्टिच्यूट बालाजुकी सम्पदा वाग्लेलाई उनले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
विद्यालय समग्र अध्यापनको स्तरोन्नती एवम् माध्यामिक तहमा उत्कृष्ट नतिजा ल्याउन सफल नेपाल पुलिस स्कुल साँगा, काभ्रेका प्रधानाध्यापकलाई उनले प्रशंसापत्र प्रदान गरे । प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी स्मारक गुठीका आजीवन सदस्यता प्राप्त गर्ने प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा, प्रहरी नायव महानिरीक्षक पुर्णचन्द्र जोशी, प्रहरी उपरीक्षकहरु अमृत कुमार गुरुङ र गोबिन्द कुमार साह, प्रहरी नायव उपरीक्षकहरु दुर्गा बहादुर गुरुङ र कृष्ण बहादुर धिताल तथा प्रहरी निरीक्षक सुर्य बहादुर थापालाई कदरपत्र प्रदान गरे ।
यसैगरी २०७५ सालमा घोषित विभूषणहरुमध्ये अलंकार तथा पदकहरु प्राप्त गर्ने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक खनालले उक्त विभूषणबाट सुशोभित समेत गरे ।
पुरस्कार वितरण समारोहमा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीको ६४औं वार्षिकोत्सवको अवसरमा कर्तव्य पालनाको सिलसिलामा जीवन उत्सर्ग गर्नुहुने अमर एवं वीर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्यपालनाको क्रममा घाइते भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे । साथै सकल दर्जाका प्रहरी कर्मचारी, सेवानिवृत्त प्रहरी कर्मचारी, प्रहरी परिवार तथा आफन्तजनमा संगठनकोतर्फबाट शुभकामना व्यक्त गरे ।
नेपाल प्रहरी स्थापनाकालदेखि नै कानुनी राज्यको मान्यता अनुरुप जनमुखी प्रहरी सेवाको प्रवर्द्धन गर्दै नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहँदै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीको भौतिक विकासमा नागरिकस्तरबाट निरन्तर प्राप्त सहयोग प्रहरीप्रतिको नागरिक विश्वास र गौरवको विषय रहेको बताए ।
अहिलेको समयमा प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी इमानदारीतापूर्वक सम्पन्न गर्नुको विकल्प नरहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने , ‘नागरिकले हाम्रा कारबाही अडिट गर्दछन्, तपाईहरु यस कुरामा प्रष्ट रहनुहोस् ।’ आमनागरिकको विश्वास प्रहरी संगठनको लागि उर्जा र शक्तिको श्रोत रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले नागरिक हितका खाँतिर संगठनको सम्पूर्ण सामर्थ्य एवम् उर्जा समर्पण गर्ने प्रण गर्न प्रहरी दिवस-२०७६ ले प्रेरित गर्ने बताए ।
जनविश्वास अनुरुप कार्य सम्पादन गर्न विगतको भन्दा अझ बढी सक्षम, जवाफदेही र व्यावसायिक बन्न अग्रसर रहेको उल्लेख गर्दै उनले पदिय जिम्मेवारी निर्वाहका क्रममा उच्च व्यावसायिकता प्रदर्शन गरी उत्कृष्ट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अमर प्रहरी परिवार असक्त प्रहरी संघका केन्द्रीय अध्यक्ष पूर्व प्रहरी निरीक्षक नवराज श्रेष्ठले अमर परिवार तथा अशक्तहरुको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।