काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित विशेष समारोहबीच ६४ औं प्रहरी दिवस २०७६ सम्पन्न भएको छ ।
प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयस्थित श्रद्धाञ्जली समारोहमा प्रधानमन्त्री ओलीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे । साथै उनले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, अन्तर जिल्ला कार्यदक्षता मूल्याङकन २०७६ मा सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय मोरङका तत्कालीन कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीलाई प्रशंसापत्र प्रदान गरे ।
सो अवसरमा प्रधानमन्त्री ओलीले “प्रहरी दर्पण २०७६” को लोकार्पण समेत गरे । समारोहमा प्रधानमन्त्री ओलीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मायाको चिनो समेत प्रदान गरे ।
श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनको पालना तथा कार्यान्वयन, निष्पक्ष अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको चर्चा गर्दै निष्पक्ष छानवीन, अभियोजन र न्याय निरुपणबाट कानूनको पालनाको साथै समाजमा शान्ति स्थापना हुने बताए ।
प्रहरीको कामको गम्भिरता र चुनौती बढेको अवस्थामा नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत ल्याएको सहकार्यको अभियान अत्यन्तै महत्वपूर्ण रहेको उनले चर्चा गरे । हालसम्म प्राप्त उपलब्धी संस्थागत गरेर विकास र समृद्धिको बाटोमा लाग्न सुशासन आवश्यक रहेको चर्चा गर्दै उनले भने, ‘यो समाज हाम्रो हो, हामी सबै मिलेर सुन्दर समाज बनाउन सक्छौं ।’ सुशासनका लागि भष्ट्राचार नियन्त्रण तथा उन्मुलन, सामाजिक विकृतिको अन्त्य, जनचेतना जगाउने लगायतका काममा प्रहरीको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे ।
अराजक, अवाञ्छित एवम् असंवैधानिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी तरिकाले ध्यान दिनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । प्रधानमन्त्री ओलीले सीमित श्रोत साधनका बाबजुद नेपाल प्रहरीले आन्तरिक सुरक्षा कायम राख्न प्रदर्शन गरेको ढृढता, कर्तव्यनिष्ठा र वीरताको प्रशंसा गर्दै नेपाल सरकारले अंगिकार गरेको “समृद्ध नेपाल सुखी नेपाली” निर्माणको लक्ष्य प्राप्तिको लागि नेपाल प्रहरीले थप जिम्मेवार र सक्रिय हुनु आवश्यक रहेको बताए ।
द्वन्द्व, बलिदान, घाइते जीवन, अनेक पीडा, सामाजिक विश्रृंखलता भोग्दै राष्ट्रमा शान्ति सुरक्षा कायम गर्न ज्यानकै बालिदान समेत दिएर कर्तव्यपरायणतामा नेपाल प्रहरी जुटेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल प्रहरीले निर्वाह गरेको बहुआयामिक भूमिकाको कदर गर्न चाहान्छु ।’ देशभित्र मात्रै होइन विदेशमा पनि सुरक्षा निकायहरु कर्तव्यपरायणता जुटेको चर्चा गर्दै उनले सामाजिक सांस्कृतिक मर्यादा बिपरितका कार्यले शान्ति सुरक्षा खलबल्याउने भएकोले त्यसतर्फ सचेत रहनुपर्नेमा जोड दिए ।
प्रहरी दिवसको अवसरमा समस्त प्रहरी कर्मचारी तथा सेवानिवृत्त प्रहरी कर्मचारीहरुलाई शुभकामना दिदै प्रधानमन्त्री ओलीले कर्तव्यपथमा अग्रसर रहँदा जीवन आहुति दिने वीर, अमर प्रहरीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुको साथै परिवारजनहरुप्रति सम्मान र घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
उक्त अवसरमा विशेष अतिथि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यस वर्ष घोषित वीरगति प्राप्त गरेका अमर प्रहरीका आश्रित परिवारहरुलाई कदरपत्र प्रदान गरे । समारोहमा गृहमन्त्री थापाले राज्यले सुम्पिएको दायित्व निर्वाह गर्ने क्रममा आफ्नो प्राण उत्सर्ग गर्ने अमर तथा वीर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कर्तव्यपालनका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको स्वास्थ्य लाभको कामना गरे ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम विगतका कार्यक्रमहरू भन्दा सफल र सर्वत्र रुचाइएकोले कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक स्रोत साधन उपलब्ध गराउन गृह मन्त्रालयले अभिभावकत्वको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले प्रहरी सेवालाई अझ बढी प्रभावकारी बनाउन फौजदारी अपराधसंहितासँग सामञ्जस्य हुनेगरी भौतिक संरचना, प्रविधिको विकास तथा क्षमता अभिवृद्धिका साथै प्रहरी कर्मचारीहरूको सुविधा अभिवृद्धि गर्न मन्त्रालय प्रयत्नशील रहेको बताए ।
देशको आन्तरिक सुरक्षा, अपराध अनुसन्धान, विपत्ति र प्रकोपमा उद्धार, राहत र पुनर्स्थापनामा सक्रियता, सडकमा सवारी व्यवस्थापनमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले संयुक्त राष्ट्र संघमार्फत विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूको सुरक्षा व्यवस्थापनमा समेत नेपाल प्रहरीले आफ्नो सक्षमता प्रमाणित गर्दै विशिष्ट पहिचान स्थापित गर्न सफल भएको बताए ।
आलोचनाभित्र लुकेको आवश्यकतालाई मनन गर्दै निर्भिक रूपमा आफ्नो कर्तव्य पथमा अडिग रहन प्रहरी कर्मचारीहरूलाई आह्वान गर्दै गृहमन्त्री थापाले आर्थिक अनियमितता, महिला तथा बालबालिकाउपर हुने हिंसा लगायतका क्रियाकलापका विरुद्ध शून्य सहनशीलता अपनाई अपराधिक तत्वलाई निस्तेज पार्न डटेर लाग्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
कार्यक्रममा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, सांसदहरु, संवैधानिक निकायका प्रमुख तथा सदस्यहरु, प्रधान सेनापति, गृहसचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निजामती सेवा तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, अमर प्रहरीका परिवारहरु, अन्य बिशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे ।
समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले धन्यबाद ज्ञापन गर्दै राष्ट्र निर्माणको यस महत्वपूर्ण क्षणमा सामाजिक रूपान्तरण र दिगो शान्ति कायम राख्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताए । आपसी सहिष्णुता, एकता कायम राख्दै समाजमा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि, गैरकानुनी क्रियाकलापलाई पूर्ण नियन्त्रण र निस्तेज गरी कानुनी राजको प्रवर्द्धन गर्न नेपाल प्रहरी दृढ संकल्पित रहेको उनले उल्लेख गरे ।
संगठित र अन्तरदेशीय संजालमा अपराध विस्तार हुँदै गएको अवस्थामा लागूऔषध, मानव बेचबिखन, विद्युतीय कसुर, अवैध हातहतियार ओसारपसार, तस्करी जस्ता चुनौती सामना गर्न अपराध अनुसन्धानको कुनै पनि कसुरको शीघ्र अनुसन्धान र कसुरवालाको तत्काल पक्राउ गर्ने विषयमा नेपाल प्रहरी प्रष्ट रहेको उनले बताए ।
प्रहरीका अनुसन्धानका संयन्त्र र इकाई विस्तार गर्ने क्रममा मानव बेचबिखन अनुसन्धान व्यूरो र केन्द्रीय साइवर व्यूरो स्थापना गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश प्रवाह भएको तथा संगठनभित्र जवाफदेहिता र शुद्धिकरणको अभियानलाई थप सशक्त बनाइएको उनले चर्चा गरे ।
नागरिकमैत्री, निष्पक्ष, पारदर्शी प्रहरी सेवा प्रवाहलाई नेपाल प्रहरीले उच्च प्राथमिकता दिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘नेपाल सरकारको दीर्घकालीन लक्ष्य समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल तुल्याउन नेपाल प्रहरी दृढ संकल्पित रहेको छ ।’ नेपाल सरकारको सेवा प्रवाहमा ई-गभरनेन्स तथा गुड गभरनेन्सको नीति अनुरुप प्रहरी चारित्रिक प्रमाणपत्र आवश्यक आम नागरिकका लागि नेपाल प्रहरीले अनलाईन पुलिस क्लियरेन्स रजिष्ट्रेसन प्रणाली शुरु गरेको उनले जानकारी गराए ।
अपराध रोकथाम र शान्ति सुरक्षा कायम राख्न नागरिक, समुदाय र प्रहरीको सहकार्यलाई उच्च प्राथमिकतामा राखी समुदाय-प्रहरी साझेदारी कार्यक्रम लागू गरिएको उल्लेख गर्दै प्रहप्रधानमन्त्रीको प्रमुख आतिथ्यमा ६४औं प्रहरी दिवस सम्पन्नरी महानिरीक्षक खनालले कार्यक्रमले समुदाय र आम नागरिकको घरघरमा प्रहरी पुग्ने भरपर्दो आधार तय भएको बताए । साथै उनले अमर प्रहरीका परिवारजन, अशक्त प्रहरी, सेवानिवृत एवं सेवारत प्रहरी कर्मचारीहरुको सुविधाप्रति संगठन गम्भीर रहेको चर्चा गर्दै अमर प्रहरीका परिवारलाई प्रहरी कल्याण कोषबाट राहत तथा थप कार्यक्रम लागू गरिएको उल्लेख गरे ।
उक्त अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीले सम्मानित हुन पाउँदा खुसी लागेको उल्लेख गर्दै सम्मानलाई व्यक्तिगत र व्यवसायिक जीवनको एउटा अमूल्य निधिको रुपमा आफूले लिएको बताए ।
उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमीला खनालले यस वर्ष घोषित अमर प्रहरीका परिवारलाई राहत बितरण गरेकी थिइन् ।
उक्त विशेष समारोह पश्चात प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, पूर्व प्रहरी महानिरीक्षकहरु, बरिष्ठ प्रहरी अधिकृतहरु लगायत पूर्व वरिष्ठ प्रहरी अधिकृतहरुबीच पुनर्मिलन कार्यक्रम समेत सम्पन्न भएको थियो ।
६४ औं प्रहरी दिवस २०७६ का अवसरमा देशभरका प्रहरी कार्यालयहरुमा समेत विविध कार्यक्रमहरुका साथ प्रहरी दिवस मनाइएको छ ।