काठमाडौं । मिति २०७६ असोज १२ गते आइतबार। समय रातको करिब ९ बजे। प्रहरी कन्ट्रोल (महानगरीय प्रहरी कार्यालय) को आकस्मिक नम्बर १०० मा फोन आउँछ। ड्युटीमा रहेका प्रहरी कर्मचारीले फोन रिसिभ गर्न नपाउदै उताबाट एक महिलाको आवाज आउँछ। 'म यहाँ तिनकुने सुविधानगर बाट बोलेको, मलाई सभामुख कृष्णबहादुर महराले कुटपिट गर्दै बलात्कार गरेर भाग्यो।'
मुलुकको पाँचौ बरियतामा रहेका हाईप्रोफाईल ब्याक्तित्वको बारेमा आएको त्यो खबरले फोन उठाउने प्रहरी कर्मचारी अक्क न वक्क बने। 'प्रहरी आउँछ तपाईं नआत्तिनुहोला।' प्रहरी बृत्तमा सनसनी फैलाउने उक्त खबरलाई मेट्रो कन्ट्रोलले आफ्नो चेन अफ कमाण्ड अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी शैलेस थापा क्षेत्रीलाई जाहेर गर्यो।
डिआईजी थापाले उक्त बिषय गम्भीर रहेको भन्दै उक्त एरिया हेर्ने बानेश्वर बृत्तका प्रमुख डिएसपी दुर्गाराज रेग्मीलाई घटनास्थलमा आफै पुग्न भन्न कन्ट्रोललाई निर्देशन दिएर उक्त घटना सम्बन्धमा प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनाललाई रिपोर्ट गरे। डिआईजी थापाको रिपोर्टपश्चात् आईजी खनालले आरोपी जुनसुकै दर्जा अथवा हैसियतको भएतापनि निष्पक्ष तवरले अनुसन्धान शुरु गर्न निर्देशन दिए।
उता डिआईजी थापाको निर्देशन लगत्तै महानगरीय प्रहरी बृत्त बानेश्वरका प्रमुख डिएसपी दुर्गाराज रेग्मी पीडित महिलाको मोबाईल नम्बरमा सम्पर्क गरेर लोकेशन पछ्याउँदै १० मिनेट भित्रै (रातको करिब ९:१५ बजे) सुविधानगर भित्र रहेको घटनास्थल पुग्छन् जुन पीडित महिला बसोबास गर्ने डेरा हो।
डिएसपी रेग्मीको टोलि त्यहाँ पुग्दा पीडित महिला घरको गेट खोल्न आउँछिन। रेग्मी सोध्छन् 'घरमा तपाईंहरु को को हुनुहुन्छ?' जवाफ आउँछ 'म एक्लै छु, श्रीमान बाहिर हुनुहुन्छ, महरा भागिसक्यो।' 'त्यसो भए घरबेटी हुनुहुन्छ होला नि? उहाँलाई बोलाउनुस न' डिएसपी रेग्मीको आग्रहलाई स्विकार्दै उनले आफू बस्ने घरको मालिकलाई बोलाइन।
घरबेटी आमै तल झरेपछी डिएसपी रेग्मी घटनास्थल भनिएको कोठामा गए। घटनास्थलको ताजा अवस्थाको भिडियो रेकर्ड गरेर पीडित महिलाई स्वास्थ्य चेकजाँच गर्न प्रहरीसंगै हिड्न र घटनाको बिषयमा जाहेरी दिन अनुरोध गरे। तर ती महिलाले आफ्नो श्रीमान उपत्यका बाहिर भएको कारण तत्कालै स्वास्थ्य परिक्षण गर्न नजाने अडान लिईन। डिएसपी रेग्मीले पीडित महिलाको स्वास्थ्य परिक्षण गराउन र जाहेरी लिन भरमग्दुर प्रयास गरे, तर उनले इन्कार गरिरहिन। 'भोलि मेरो श्रीमान आउनुहुन्छ अनि सल्लाह गरेर आउँछौ।'
प्रहरीले घटनास्थलमा पुगेर सोधपुछ गर्दा पीडित महिला संसद सचिवालयमा कार्यरत स्वास्थ्य क्षेत्रकि कर्मचारी रोशनी शाही रहेको खुल्यो। जति आग्रह गर्दापनी नमानेपछि डिएसपी रेग्मीको टोलि मजकुर (माथिल्लो) निकायमा घटनासम्बन्धि रिपोर्टिङ गरेर फर्किए।
घटनाको दोश्रोदिन मंगलबार बिहानैदेखि बानेश्वर बृत्तको अनुसन्धान टोलिले पीडित शाहीको मोबाईलमा सम्पर्क गर्यो। तर उनको मोबाईल स्विच अफ थियो। जाहेरी लिएर स्वास्थ्य परिक्षण गर्न हिड्न अनुरोध गर्न सादापोशाकको प्रहरी टोलि उनको डेरामा पुग्दा उनी त्यहाँपनि थिइनन्। प्रहरीले दिनभर उनलाई सम्पर्क गरिरह्यो तर उनी सम्पर्कमा आइनन।
मंगलबार साँझपख हाम्राकुरा डट कममा सभामुख कृष्णबहादुर महराले आफुलाई बलात्कार गरेको भन्दै शाहीले अन्तर्वार्ता दिइन। महराको उक्त काण्डले नेपालको राजनीतिक बृत्तमा सनसनी मच्चियो। त्यसलगत्तै महराको निजि सचिवालयले उक्त दिन सभामुख महरा बालुवाटार निवासबाट कतै ननिस्किएको दावी गर्दै उनको बचाउमा उत्रियो।
एकातिर समाचार र बक्तब्यबाजिको जुहारी चलिरहदा नेपाल प्रहरीले उक्त घटनासम्बन्धमा प्राविधिक तवरले प्रारम्भिक अनुसन्धान गरिसकेको थियो। त्यो बिचमा मंगलबार बिहानै आईजी सर्वेन्द्र खनालले महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेस थापा, महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा, काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी र महानगरीय प्रहरी बृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीलाई डाकेर कहिँ कतै कसैको प्रभावमा नपरी निष्पक्ष रुपमा अनुसन्धान अगाडी निर्देशन दिईसकेका थिए।
आईजी खनालको निर्देशनपछि बानेश्वर बृत्तलाई मद्दत गर्न महाशाखाबाट डिएसपी दुर्गा दाहाल नेतृत्वको विशेष टोलीले प्राविधिक रुपमा अनुसन्धान गरेर निष्कर्ष निकालिसकेको थियो। उच्च प्रहरी स्रोत भन्छ 'मोबाईलको कलवाइज लोकेशन र सिसिटिभी फुटेज हेर्दा पिडित शाहीको डेरामा महरा पुगेको पुष्टि भइसकेको छ।'
सामाजिक संजाल तथा सञ्चारमाध्यममा अनेक आरोप प्रत्यारोप चलिरहदा आईजी खनालले गृहमन्त्री रामबहादुर थापा बादललाई प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानको प्रगति विवरणको रिपोर्टिङ गरिसकेका थिए।
स्रोतका अनुसार प्रहरीको रिपोर्टपछि गृहमन्त्री बादलले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घटना सम्बन्धमा ब्रीफिङ गरेपछी सभामुख महरालाई पदबाट राजिनामा गर्न लगाउने रणनीति बनेको हो। सोहिअनुसार असोज १४ गते मंगलबार अपराह्न सभामुख महराले संघीय सांसदको सभामुख पदबाट राजिनामा दिइसकेका छन्।
महराले राजिनामा दिएपछी घटनाक्रममा ट्विस्ट आयो। अघिल्लो दिन आफुलाई पीडित दावी गर्ने शाहीले एकाएक बोली फेरिन र भनिन्। 'महरा सर मेरो बाबुसमानको मान्छे हो, उहाँले केही गर्नुभएको छैन, उहाँ मेरो कोठामा आउनुभएकै छैन।' शाही एकाएक युटर्न भएपछी अनुसन्धानमा खटिएको प्रहरी टोलिसमेत चकित पर्यो तरपनि अनुसन्धान अगाडी बढिरह्यो।
पीडितले तत्काल जाहेरी नदिएर वक्तव्यबाजि गरिदिदा प्रहरीलाई अनुसन्धानमा असजिलो भएकै थियो। पीडितलाई न्याय दिलाउने र दोषीलाई कारबाहीको दायरामा ल्याउने कार्यमा सम्बन्धित पक्षको असहयोगका बावजुद पनि पछिल्लो समय प्रहरीलाई अनुसन्धानमा केही सहज हुने देखिएको छ। हिजो (शुक्रवार) साँझ पीडित शाहीले महानगरीय प्रहरी बृत्त बानेश्वरमा महराविरुद्ध 'जबर्जस्ति करणी उद्योग' कसुरमा किटानी जाहेरी दिएकी छन्। पीडितको जाहेरी आएसंगै प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको छ। सोहि अनुसार प्रहरीले बिहिवार नै पीडित शाहीको त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य परिक्षण गराइसकेको छ। जबर्जस्ति करणी मुद्दामा स्वास्थ्य परिक्षण प्रतिवेदनलाई महत्वपूर्ण मानिन्छ।
घटना सम्बन्धमा पीडितको जाहेरी प्राप्त भएको पुष्टि गर्दै महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेस थापा क्षेत्रीले अनुसन्धानलाई तिब्रता दिइएको बताए। 'पीडितको जाहेरी आएको छ, गम्भीरताका साथ अनुसन्धानलाई अगाडी बढाएका छौं, थप प्रक्रियाको लागि आइतबार सम्मानित अदालतमा पेश गर्छौ।'
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार महानगरीय प्रहरी बृत्त बानेश्वरले निवर्तमान सभामुख महराविरुद्ध जबर्जस्ती करणी उद्योग कसुरसम्बन्धि मुद्दा दर्ता गरेर पक्राउ आदेशका लागि आइतबार काठमाडौं जिल्ला अदालतमा मिसिल पेश गर्दैछ। अदालतबाट पक्राउ आदेश आएपछी प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा लिनेछ। अदालतबाट पक्राउपुर्जी जारी हुनेबित्तिकै महरालाई आइतबार नै पक्राउ गर्ने प्रहरीको तयारी रहेको बुझिएको छ।
निर्मला प्रकरणमा प्रहरीका केही कर्मचारीले गरेको गल्तीले गर्दा समग्र प्रहरी संगठनको छविमा पर्न गएको नकारात्मक असरलाई मध्यनजर गर्दै आईजी खनालले उक्त प्रकरणको प्रत्यक्ष सुपरिवेक्षण गरिरहेका छन्। 'अनुसन्धानमा कुनै कमीकमजोरी नहोस् भनेर यसमा आईजी साब आफै खटेर लाग्नुभएको छ।' प्रहरी मुख्यालयका एक उच्च अधिकारीले भने। 'आईजी साबको क्विक एक्सनले घटनासम्बन्धि सम्पुर्ण प्रमाणहरु सुरक्षित भईसकेका छन्।'
पीडितले विभिन्न माध्यमबाट आफ्नो परिचय खुलाइसकेकोले उनको नाम समावेश गरिएको हो। -सम्पादक