काठमाडौं । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ति करणी उद्योग मुद्दामा जाहेरी परेको छ। संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफुलाई बलात्कार गरेको आरोप लगाएपछि नैतिकताको कारण देखाउदै पदबाट राजिनामा दिएका महराविरुद्ध महानगरीय प्रहरी बृत्त बानेश्वरमा किटानी जाहेरी दर्ता भएको उच्च स्रोतले बतायो।
पटकपटक बिबादास्पद बक्तब्यबाजी गर्दै आएकी पीडित शाहिले अन्ततः आफ्ना श्रीमानलाई संगै लिएर बानेश्वर बृत्तमा जाहेरी दिएकी हुन्। जाहेरी प्राप्त भएपछी प्रहरीले शाहीको स्वास्थ्य जाँच गराएको छ। जाहेरी आएपछी प्रहरीले महरालाई पक्राउ गर्ने प्रक्रिया थालेको छ। 'अहिले अदालत बिदा छ, उहाँलाई अदालतबाट पक्राउ आदेश लिएर पक्रने वा जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गर्ने भन्ने बिषय अझै टुंगो लागेको छैन।' प्रहरीका एक उच्च अधिकारीले भने।
उच्च स्रोतका अनुसार पीडित शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन् । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताउदै महरा आफ्नो कोठामै नआएको दाबी समेत गरेकी थिइन् ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा घटनाको दिन (आइतबार) महरा रोशनीको कोठामा देखिएको पुष्टि भएको छ । जाहेरी आएपछी प्रहरीले पीडित शाहीको त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य जाँच गरेर मुद्दा को प्रक्रिया अगाडी बढाएको स्रोतको दावी छ।
बलात्कार जस्तो गम्भीर आरोप लागेपछि पार्टीको निर्देशन बमोजिम महराले गत सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । त्यसबेला उनले आफू पीडितको कोठामा नगएको दाबी गर्दै आएका छन् । प्रहरी अनुसन्धानले ‘‘आइतबार साँझ चार बजेतिर महराले पीडित शाहीलाई टेलिफोन सम्पर्क गरेको देखिएको छ। त्यसै साँझ महरा पीडितको कोठामा पुगेको अनुसन्धानले देखाएको प्रहरीले स्रोतले जानकारी दियो। पीडितको कोठामा गएदेखि निवासमा फर्किएसम्मको सबै सीसीटीभी फुटेज र महराले प्रयोग गर्ने मोबाईलको कलवाइज लोकेशन संकलन गरेर प्रहरीले अनुसन्धान थालेको थियो।
घटना घटेपछी गत आइतबार राति नै पीडित शाहीले आफू सभामुख महराबाट बलात्कृत भएको भन्दै प्रहरी कन्ट्रोलको १०० नम्बरमा खबर गरेकी थिइन। उक्त खबर पाए लगत्तै महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थलबाट प्रयोग भएको रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो। प्रहरी टोली घटनास्थल पुग्दा तत्कालीन सभामुख महरा भने त्यहाँबाट हिडिसकेका थिए।
पीडितले विभिन्न माध्यमबाट आफ्नो परिचय खुलाइसकेकोले उनको नाम समावेश गरिएको हो। -सम्पादक