काठमाडौं । नुवाकोट, सिन्धुली, झापा, कैलाली र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
नुवाकोट, बेलकोट गढी नगरपालिका-८ ठुलो खोलास्थित सडकमा बा.२ ख ५९३६ नम्बरको ट्रकले बा.६३ प ४३४ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रसुवा पार्बती कुण्ड गाउँपालिका-१ बस्ने २८ वर्षीय गम्बो छिरिङको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको छ ।
साथै उक्त मोटरसाइकलले ग.७ प ८१३८ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा घाइते भएका सो मोटरसाइकलमा सवार २ जना र बा.६३ प ४३४ नम्बरको मोटरसाइकलका चालक समेत ३ जनाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुली, दुधौली नगरपालिका-१० कुर्थास्थित सडकमा स.९ प १८०८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया बुधमाया बिकको कटारी अस्पताल उदयपुरमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, कन्काई नगरपालिका-१ जामुनखाडी चोकस्थित सडकमा को.३४ प ७९०४ नम्बरको मोटरसाइकलले को.३३ प १०५० नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका को.३४ प ७९०४ नम्बरको मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय अजिव राईको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनालाई उपचारको लागि बिएण्डसी अस्पतालतर्फ पठाईएको छ ।
कैलाली, भजनी नगरपालिका-९ अम्बारीस्थित सडकमा से.७ प ८५२७ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही ठाउँ बस्ने ४५ वर्षीय कलम बन्तोलाको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-१० मण्डपस्थित सडकमा लु.४४ प ७६५६ नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।