पोखरा । 'रक्तदान जिवनदान: जिवनदान महादान' भन्ने मुल नाराका साथ नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको ४०औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजना र लायन्स क्लब अफ मेट्रोसिटी पोखराको सहयोगमा जिल्ला कास्की पोखरा-९ न्युरोड स्थितमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी कार्यवाहक अध्यक्ष अप्सरा खत्री र लायन्स क्लब अफ मेट्रोसिटी पोखराका अध्यक्ष गौतम पौडेललाई रक्त झोला हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक सिंहले अस्पतालको शैयामा छटपटाईरहेका बिरामीहरुका लागि रक्तदान जिवनदान सरह हुने भएकोले रक्तदानलाई जिवनकै महादान सम्झेर रक्तदान कार्यमा सहभागी हुन आग्रह समेत गरिन् ।
कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी कार्यवाहक अध्यक्ष अप्सरा खत्रीले लायन्स क्लबसंग सहकार्य गरीएको पहिलो समाजिक कार्यमा साथ दिने सम्पुर्णमा कृतज्ञता ब्यक्त गर्दै आगामी दिनहरुमा थप सहकार्य गर्न आफुहरु तयार रहेको बताइन् ।
त्यस्तै लायन्स क्लब अफ मेट्रोसिटी पोखराका अध्यक्ष गौतम पौडेलले कार्यक्रम समापन गर्दै साथ र सहयोग प्रदान गर्ने सम्पुर्णमा धन्यबाद व्यक्त गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापा, लायन्स क्लब अफ मेट्रोसिटी पोखराका मेम्बर शुशिल केसी लगायतले शभकामना मन्तब्य ब्यक्त गरे ।
नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराका पदाधिकारीहरु, पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, संघ संस्थामा आवद्ध पदाधिकारीहरु र आम नागरिकहरु समेत गरी जम्मा ५१ जनाले रक्तदान गरेका थिए ।