काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारिताको उच्च प्रशंसा गरे ।
प्रहरी महानिरीक्षक कुँवरले संगठनमा सक्रिय सदस्यको रूपमा रहँदा योग्य, अनुशासित, अनुभवि र निष्ठावान् सदस्यको रूपमा आफूलाई परिचित गराउँदै सेवा अवधि सफलतापूर्वक निर्वाह गरेकोमा बधाई समेत दिए । संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धीमूलक सत्प्रयासको अपेक्षा रहेको उनले उल्लेख गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेललाई मायाको चिनो प्रदान गरे ।
कार्यक्रममा सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी र प्रहरी नायव महानिरीक्षक पोखरेल वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।