काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा शनिबार आयोजित एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको सपमान गरेका छन् ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले कार्याशाला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सवैप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै ध्यान र योगाभ्यासले मानिसमा तनव कम गराउन मद्दत गर्ने बताए । उनले ध्यान विज्ञानलाई आत्मसाथ गर्न सकियो भने जीवन उपयोगी हुने उल्लेख गर्दै ध्यान सजगता हो, होसको स्थिति हो, विधि र प्रकृया अनुसार ध्यानको स्थानमा पुग्न सकियो भने यसले जीवन चिन्न र सार्थक तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
यसअघि शनिबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले सो कार्याशालाको उद्घाटन गरेका थिए ।
नेपाल सरकार गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा सम्माननीय राष्ट्रपति पौडेलले योग र ध्यानलाई तन, मन र वचनकासाथ गर्न सक्यौ भने हामीले गर्ने प्रत्येक कार्यहरुमा आफुलाई आफैमा अवश्य सन्तुष्टि दिने बताएका थिए ।
कार्यक्रममा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, नेपाली सेनाका प्रधान सेनापती महारथी प्रभुराम शर्मा, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृहमन्त्रालयका सहसचिव, उपत्यकास्थित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।