काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रमुख एसएसपी राठौरको नेतृत्वमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेको समिति गठन गरेका हुन् ।
समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।
गएराति तिनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो ।
दोलखा घर भएका कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा सुमित्रा भुजेल र मोरङ घर भएका नवीन राईको हत्या भएपछि अनुसन्धानका विविध विधि र प्रविधि लगायतको प्रयोग गरि सुक्ष्म तवरले अनुसन्धान गरि यथासिघ्र प्रतिवेदन पेश गर्ने म्याण्डेट दिइएको निमित्त आईजीपीको जिम्मेवारी समेत सम्हालीरहेका एआईजी दीपक थापाले जानकारी दिए ।
प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ भने अन्य केही शंकास्पद ब्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको छ । घटनाको यकिन कारण अहिलेसम्म खुल्न सकेको छैन ।