काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रम उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा आज सम्पन्न भएको हो ।
कार्यक्रममा गृहमन्त्री श्रेष्ठले संघद्वारा प्रकाशित वार्षिक स्मारिका ‘सहचरी २०८०’ विमोचन गरे । सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले विगत लामो समयदेखि आँखा उपचार र मोतिविन्दुको शल्यक्रिया गरी आफूलाई पूर्ण रूपमा आँखा उपचारको क्षेत्रमा समर्पित राखी विश्वसामु अन्धोपन निवारणमा नेपाललाई अव्वल स्थान दिलाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याउने तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका संस्थापक एवम् कार्यकारी निर्देशक प्राडा सन्दुक रूइतलाई सम्मानपत्र प्रदान गरे ।
समारोहलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले सम्बोधन गरेका थिए भने संघकी महासचिव अनुश्री पाख्रिनले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुद्वारा सहचरी गीत प्रस्तुत गरेका थिए भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरिएको थियो ।
सो अवसरमा संघ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, संघका संस्थापक अध्यक्ष बसुन्धारा लामा, गृह मन्त्रालय तथा काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष, सैनिक श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत तीन वटै संघका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरु, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवम् आमन्त्रित अतिथिहरुको समेत उपस्थिति थियो ।