काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एसएसपी सरुवाको निर्णय गरेका हुन् ।
प्रहरी नियमावलीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गृहमन्त्रीस्तरीय निर्णयले हुने ब्यबस्था छ ।
सरुवा सुचीअनुसार काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी भुपेन्द्र बहादुर खत्रीको सरुवा भएको छ। त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रमुखमा राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ ।
काठमाडौं प्रहरी प्रमुखमा सरुवा भएका एसएसपी खत्री एसपी हुँदा जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। डीएसपी हुँदा नगर प्रहरी कार्यालय काठमाडौंको नेतृत्व गरेका उनी धेरैपटक आईजीपी सचिवालयमा रहेर कार्यसम्पादन गरिसकेका छन्। रौतहटको प्रहरी प्रमुख हुँदा जिउँदो मान्छेलाई इटाभट्टामा जलाएर मार्ने काङ्ग्रेस नेता मोहम्मद अफताव आलमलाई पक्राउ गरेर मुद्दा चलाएका थिए। राजनीतिक शक्तिको आडमा अपराधकर्मबाट जोगिदै आएका आलम अहिले जेलमा छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा सरुवा भएका एसएसपी राठौरलाई प्रहरी निरीक्षक देखि एसएसपीसम्म पटकपटक गरि सोही कार्यालयमा काम गर्ने अवसर जुरेको छ । इन्स्पेक्टर, डीएसपी र एसपी हुँदा पटकपटक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (तत्कालीन अपराध महाशाखा) मा कार्यरत रहि अपराधका कैयौं घटनाको सफल अनुसन्धान गरेका एसएसपी राठौरले यसपटक सोही कार्यालयको कमान्ड गर्ने अवसर पाएका छन्।
अपराध अनुसन्धानको क्षेत्रमा राज्यलाई विशेष योगदान दिएका एसएसपी राठौर डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, प्रहरी बृत लैनचौर (सोह्रखुट्टे) र एसपी हुँदा पर्सा, मकवानपुर र कैलालीको सफल कमान्ड गरिसकेका छन्।
सरकारले काठमाडौंको शान्ति सुरक्षामा विशेष भुमिका खेल्ने प्रहरी युनिट जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा एउटै ब्याचको दुई अधिकृतलाई खटाएको हो। नेपाल प्रहरीको चर्चित ११२ समुहका एसएसपीद्वय खत्री र राठौर आफ्नो ब्याचका घनिष्ठ साथी समेत हुन्।
आजको सरुवामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका एसएसपी डा. मनोज कुमार केसीको महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा निर्देशनालय, महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत एसएसपी सानुराम भट्टराईको राष्ट्रिय सुरक्षा परिषद सचिवालय सिंहदरवार र दान बहादुर कार्कीको प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएको छ ।