म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर-६, घारका स्थानीयवासीले प्रहरी चौकीको भवन निर्माणका लागि ३५ लाख ५० हजार रूपैयाँ मूल्य बराबरको जग्गा दान गरेका छन् ।
घारका गणेश र शिव खड्काबाट चार रोपनी दुई आना तीन दाम क्षेत्रफलको जग्गा प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गणेशले दुई रोपनी १० आना एक दाम एक पैसा र शिवले एक रोपनी सात आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
उनका अनुसार चलनचल्तीको भाउ अनुसार गणेशले २१ लख ४५ हजार रूपैयाँ र शिवले १२ लाख पाँच हजार रूपैयाँ मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराउनु भएको हो । ‘जग्गा प्राप्त भएपछि प्रहरी चौकी शिख घारको भवन निर्माणका लागि बजेट व्यवस्थापन गर्न माथिल्लो निकायमा प्रस्ताव गरेका छौँ ।’ उनले भने, ‘स्थानीय जनप्रतिनिधि, अगुवा र सुरक्षा अधिकारीको पहलमा जग्गा व्यवस्थापन भएको हो ।’
म्याग्दीमा सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ वटा चौकी तथा पोष्ट छन् । घोरेपानी, घार, भुरूङ तातोपानी, भगवती, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मङ्गलाघाट, रत्नेचौर, सिङ्गा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी एकाइ छन् ।