काठमाडौं । बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाको निक्षेप रकम अपचलन प्रकरणमा सरकारी वकिलले नै प्रकाउ परेका प्रतिबादीका आफन्तसग दुई लाख रकमको ‘वार्गेनिङ’ गरेको पाइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय बागलुङका प्रमुख जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले प्रकाउ परेका प्रतिबादीका आफन्तसँग दुई लाख रुपैयाँ घुस रकमको ‘वार्गेनिङ’ गरेको प्रमाण फेला परेको छ । सुरक्षा न्युज डटकमलाई प्राप्त अडियो रेकर्ड अनुसार सरकारी वकिल कार्यालयका प्रमुख न्यौपानेले मुद्दा कमजोर गराईदिन्छु भन्दै दुई लाख ‘वार्गेनिङ’ गरेका छन् ।
बागलुङ बजार स्थित एक होटेलमा पक्राउ परेका मध्ये एक प्रतिबादीको बुवा र श्रीमतीलाई भेट्न बोलाएर सरकारी वकिलले मुद्दा कमजोर बनाउने आश्वासन दिदै घुस मागेका हुन् । प्राप्त अडियो अनुसार जिल्ला न्यायाधिवक्ता न्यौपानेले प्रतिबादीका आफन्तसँग माथिल्लो दफा लगाउदा धेरै सजाय हुने र प्रतिबादी पनि थुनामा जाने भएको हुँदा तल्लो दफा लगाईदिन्छु भन्दै तपाईंहरुले के, कती खर्च गर्न सक्नुहुन्छ ? भन्दै ‘वार्गेनिङ’ सुरु गरेका थिए ।
जवाफमा प्रतिबादीका आफन्तहरुले आफुसँग धेरै पैसा नभएकोले धेरै पैसा दिन नसक्ने बताएका थिए । प्राप्त अडियोमा न्यौपानेले कती गर्न सक्नु हुन्छ त ? भनेर भनेका छन् । उक्त न्यौपानेको जवाफमा प्रतिबादीको श्रीमतीले आफ्नो श्रीमान थुनामुक्त हुने भए आफ्नो बच्चाको गास काटेर भएपनि दुई लाख सम्म दिन सक्ने बताएकी छिन् ।
सरकारी वकिल न्यौपानेले प्रतिबादीका आफन्तसँग भनेको माथिल्लो दफाको अर्थ सहकारी ऐन २०७४ को दफा १२४ को उपदफा १ को ६ हो । जसमा १ अर्व रुपैयाँ भन्दा बढी जती बिगो भएपनी ८ देखी १० बर्ष कैद सजाय हुने ब्यबस्था छ । उनले आर्थिक प्रलोभनमा तल्लो दफा लगाईदिन्छु भनेको सहकारी ऐन २०७४ को दफा १२४ को उपदफा २ हो । जुन दफामा प्रतिबादीलाई मतियारको रुपमा प्रस्तुत गरिन्छ । उक्त दफा अनुसार कसुर गर्ने वा त्यस्तो कसुर गर्न मद्दत पुर्याउने ब्यक्तिलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने ब्यबस्था छ ।
प्राप्त अडियोमा सरकारी वकिल न्यौपानेले आफु माथी सोधेर साँझ खबर गर्ने भन्दै प्रतिबादीका आफन्तसँग होटलबाट छुटिएका थिए । सोही दिन साँझ प्रतिबादीको श्रीमतीलाई फोन गरेर भोली बिहान दुई लाख ल्याउनु भनेका थिए । सरकारी वकिलले पैसा लिएर मुद्दा कमजोर गराइदिने कुरामा प्रतिबादीको आफन्तलाई आश्वस्त पारेका थिए । तर, प्रतिबादीका आफन्तले तल्काल पैसाको ब्यबस्था गर्न नसकेपछी सरकारी वकिल न्यौपानेले २०८० असार २५ गते बागलुङ जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएका थिए । जिल्ला सरकारी वकिल कार्यालय बागलुङले बागलुङ जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा पक्राउ परेका तीन जना प्रतिबादीलाई नै माथिल्लो दफा अर्थात सहकारी ऐन २०७४ को दफा १२४ को उपदफा १ को ६ बमोजिमको सजाय मागदावी लिएको छ ।
हाल जिल्ला अदालत बागलुङको आदेशले इमेज बचत तथा ऋण सहकारीका एक सञ्चालकसहित तीनजना पुर्पक्षका लागि थुनामा रहेका छन् । जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले यही साउन २ गते सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र लेखापाल लालमती रोकालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । हाल उनिहरु तीन जना नै जिल्ला कारागार बागलुङमा थुनामा छन् ।
एक हजार ४८१ बचतकर्ताको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले एक अर्ब ३० करोड बिगो कायम गर्दै सहकारीका संस्थापकसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित १० जनाविरुद्ध सहकारी ठगी मुद्दा दायर गर्न जिल्ला सरकारी वकिल कार्यालय बागलुङमा अनुसन्धान प्रतिबेदन बुझाएको थियो । प्रतिबादी १० मध्ये सातजना हाल सम्म फरार छन् । मेयरसमेत रहेका सहकारीका अध्यक्ष नेपाली, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सदस्य झगबहादुर शाही र रूपा विक तथा बाँकी अनिल नेपाली र अनिता बुढा मगर फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । मेयर नेपाली परिवारसहित फरार छन् ।
सरकारी वकिल न्यौपानेले सहकारीका अध्यक्ष देवकुमार नेपालीको आर्थिक प्रलोभनमा परी प्रहरीलाई अनुसन्धानमा समेत असहयोग गरेको पाइएको छ । प्रहरीले अनुसन्धान गर्ने क्रममा देवकुमार नेपाली र उनको श्रीमती छेला नेपालीको नाममा रहेको चल अचल सम्पती खोज्दै जाने क्रममा उनले प्रयोग गर्ने दुई वटा गाडी प्रहरीले बरामद गर्न खोज्दा सरकारी वकिल न्यौपानेले अर्काको नाममा नामसारी भईसकेको गाडी बरामद नगर्नु भन्दै अनुसन्धानमा खटिएको प्रहरीलाई दबाब दिएको बागलुङ प्रहरी स्रोतले जानकारी दिएको छ । "इमेज सहकारीको केसमा सरकारी वकिल सावले धेरै नै चलखेल गर्न खोजेको हामीले पनि बुझेका हौ, तर हामी कसैको दबाब प्रभाव नपरी मुद्दाको अनुसन्धान निपक्ष रुपमा सम्पन्न गरेका थियौ ।" जिल्ला प्रहरी कार्यालय बागलुङका एक प्रहरी अधिकारीले भने । अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङले इमेज सहकारी, अध्यक्ष देवकुमार नेपाली र उनको श्रीमती छेला नेपालीको नाममा रहेको तथा अन्य ब्यक्तिको नाममा स्थानान्तरण भएको समेत गरी सम्पूर्ण चल अचल सम्पती रोक्का गरी सकेको छ ।
उक्त ‘वार्गेनिङ’ अडियोको बिषयमा जिल्ला सरकारी वकिल कार्यालय बागलुङका प्रमुख जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले आफुले कसैसँग ‘वार्गेनिङ’ नगरेको दाबी गरे । उनले गरेको ‘वार्गेनिङ’ अडियो हामीसँग सुरक्षित छ ।