काठमाडौं । प्रहरी दिवसको अवसर पारेर नेपाल प्रहरीले हरेक वर्ष प्रदान गर्ने ‘पूर्ण शान्ति पुरस्कार’ यसपटक प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्र चन्दले पाउने भएका छन् ।
६४औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले गठन गरेको पुरस्कार छनोट समितिले महानगरीय अपराध महाशाखामा कार्यरत चन्दलाई उक्त पुरस्कारले सम्मानित गर्ने निर्णय गरेको उच्च स्रोतको दाबी छ । प्रहरी दिवसको अवसरमा प्रदान गरिने विभिन्न पुरस्कारको लागि प्रहरी प्रधान कार्यालयले डीआईजी केदार रिजालको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरेको थियो ।
समितिले यसपटकको प्रहरी दिवसमा पुरस्कार पाउने प्रहरी कर्मचारीहरुको नाम टुंगो लगाएर आईजी सर्वेन्द्र खनाललाई पेश गरिसकेको आईजी सचिवालय स्रोतले बतायो । प्रहरी दिवसको अवसरमा यही असोज २४ गते प्रहरी प्रधान कार्यालयमा आयोजना हुने भव्य समारोहबीच छनोट भएका प्रहरी कर्मचारीहरुलाई पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम छ ।
प्रहरीमा विशेष महत्वपूर्ण मानिने ‘पूर्ण शान्ति पुरस्कार’ पाउने सई चन्द व्यावसायिक अधिकृत मानिन्छन् । लामो समयदेखि अपराध महाशाखामा कार्यरत उनी ‘इन्काउन्टर स्पेशलिस्ट’को रुपमा समेत चिनिन्छन् । हालका आईजी सर्वेन्द्र खनाल अपराध महाशाखाको प्रमुख हुँदा गरिएको गुण्डा नाइके कुमार घैटे इन्काउन्टरको नेतृत्व पनि उनै चन्दले गरेका थिए । हालका सांसद तथा पूर्वडीआईजी नवराज सिलवाल काठमाडौं प्रहरी प्रमुख हुँदा गुण्डानाइके कुमार घैटेलाई लाजिम्पाटको शंकर होटेलबाट चन्दले नै गोली हानेर नियन्त्रणमा लिएका थिए ।
पछिल्लो डेढ वर्षदेखि अपराध महाशाखामा कार्यरत रहँदा जेलमा रहेका गुण्डानाइके समिरमान बस्नेत समूहको आपराधिक सञ्जाल तोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेका चन्दले सयौं आपराधिक घटनाको अनुसन्धान तथा अपरेसनमा संलग्न भएर काम गरेका थिए ।
पछिल्लो डेढ वर्षयता महाशाखाबाट भएका इन्काउन्टर, विभिन्न आपराधिक समूहका अभियुक्त पक्राउ लगायतका विशेष अपरेसनमा उत्कृष्ट रुपमा काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले चन्दलाई उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो । ताम्रपत्रसहित सम्मान गरिने उक्त पुरस्कारको राशी नगद २१ हजार रुपैयाँ छ ।