काठमाडौं । नेपाल प्रहरी र भक्तविर सिंह तुलाधर फाउण्डेसनबीच ‘नेपाल प्रहरी-भक्तविर सिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ ।
सो अवसरमा भक्तविर सिंह तुलाधर फाउण्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदान प्रदानसमेत गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सम्झौताको लागि भक्तविर सिंह तुलाधर फाउण्डेसनलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको कार्यदक्षता र मनोबलमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । भक्तविर सिंह तुलाधर फाउण्डेसनले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमासमेत नेपाल प्रहरी र भक्तविर सिंह तुलाधर फाउण्डेसनबीच आपसी सहयोग आदान प्रदान हुने उल्लेख गरे ।
उक्त अवसरमा भक्तविर सिंह तुलाधर फाउण्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । साथै आगामी दिनमा समेत नेपाल प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिने उनले उल्लेख गरे ।
सम्झौता अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले तोकेको नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ ।
छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ भक्तविर सिंह तुलाधर फाउण्डेसनले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी- भक्तविर सिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ ।
आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या समाधान गरिनेसमेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।
उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र भक्तविर सिंह तुलाधर फाउण्डेसनको तर्फबाट फाउण्डेशनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले हस्ताक्षर गरेका थिए ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत भक्तविर सिंह तुलाधर फाउण्डेसनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।