काठमाडौं । काठमाडौंको नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने विद्यार्थी बोकेको बसका चालक सहित ६ जना चालकलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा३ख ६३०३ नम्बरको रिव्स स्कुल गुर्जुधाराका विद्यार्थी बोकेको चन्द्रागिरी यातायातको बस चालक रामेछापका गणेश दमाई, बागमती प्रदेश ०३-००१ ख १७ ०६ नम्बरको ट्रक चालक मकवानपुर घर भएका गणेश चौलागाईँ, बागमती प्रदेश ०२-०३४ प ७९ २९ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकका मेख बहादुर थापा, ग१०प ९८ ३४ नम्बरको स्कुटर चालक लमजुङ घर भएका संजय गुरुङ, प्रदेश ३ -०१-०२५ च ६८८२ नम्बरको पिकअप जीपका चालक धादिङका विजन सिल्वाल र ग१ख ७१ ४५ नम्बरको बस चालक लमजुङ घर भएका श्याम थापा नियन्त्रणमा आएका हुन् ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले शुक्रबार २० वटा सवारी साधन चेकजाँच गर्दा लागूऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा ६ जना चालकलाई फेला पारेको हो ।
जसमा सार्वजनिक सवारी साधनका चालक ३ जना, मोटरसाइकल/स्कुटरका चालक १/१ जना र पिकअप जीपका चालक १ जना गरी ६ जना चालकहरु रहेका छन् । लागूऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोटमा पठाइएको छ । विद्यार्थी बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागूऔषध सेवन गरेर सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य रहेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आएता पनि पछिल्लो समय लागूऔषध समेत सेवन गरेर सवारी साधन चलाउने चालकहरु भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तिब्रताका साथ अगाडी बढाइएको पनि प्रवक्ता भट्टले जानकारी दिए ।
मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने गर्दछ । सवारी साधनका चालकहरुले लागूऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउनबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।