काभ्रेपलाञ्चोक । नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती कुसुम लता सिंहको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ३९औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।
उक्त अवसरमा सङ्घकी अध्यक्ष सिंहले विद्यालयको वार्षिक म्यागजिन ‘दीपिका’ ३२औं अङकको लोकार्पण गर्नुका साथै विद्यालयमा स्थापित २३ वटा अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा ६४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिन् । साथै उनले विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरु, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो । साथै उनले विद्यार्थीहरुले निर्माण गरी प्रदर्शनीमा राखेका विभिन्न विज्ञान तथा कला प्रदर्शनीको अवलोकनसमेत गरिन् ।
कार्यक्रममा सङ्घकी अध्यक्ष सिंहले देश भरिका विद्यालय शिक्षाको क्षेत्रमा नेपाल प्रहरी विद्यालयको छुट्टै स्थान र गरिमा रहेको चर्चा गर्दै नेपाल पुलिस स्कुल साँगाले किताबी ज्ञानमा मात्रै सीमित नभई अतिरिक्त क्रियाकलाप र सह-शिक्षात्मक क्रियाकलापहरूलाई नियमित रूपमा संचालन गरी विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिँदै आएको बताइन् । प्रतिभावान् र कर्मठ नागरिक उत्पादन गरी मुलुकको विकासमा टेवा पुर्याउन विद्यालयले ठूलो भूमिका खेल्ने उल्लेख गर्दै उनले प्रहरी विद्यालयले पनि आफ्नो भूमिकालाई अझ बढी गतिशील र प्रभावकारी बनाउदै जाने विश्वास व्यक्त गरिन् ।
नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका सो कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले धन्यबाद ज्ञापन गरेका थिए । सोही अवसरमा विद्यार्थीहरुले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक तथा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, अभिभावकहरुसमेतको उपस्थिति रहेको थियो ।