डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवराचौतारामा नेपाली सेनाद्वारा निमार्ण गरिएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
गाउँपालिकासंगको समन्वयमा सिलगढी स्थित भैरव प्रसाद गण डोटीले चालु आ.व.२०७९/०८० मा सिमिक कार्यक्रम (QIPs) अन्तर्गत ५ लाख लगानीमा निमार्ण गरिएको हेलिप्याडको सोमबार उद्घाटनसंगै गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
हेलीप्याडको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिला र भैरब प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्किले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
विपदमा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी महिला तथा गम्भिर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उदेश्यका साथ हेलीप्याड निर्माण गरिएको नेपाली सेना भैरवप्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए । ‘जिल्ला सदरमुकाम देखि टाढा दुर्गम क्षेत्रमा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपतकालीन् अवस्थामा हेली उद्दार गर्न सहज होस भन्नका लागि हेलीप्याड निर्माण गरेको समेत प्रमुख सेनानी कार्किले बताए ।
मंसिर ८ देखि निमार्ण कार्य सुरु गरेको नेपाली सेनाले ४५ दिनमा हेलीप्याड तयार गरेको भैरब प्रसाद गणले जनाएको छ ।
ग्रामीण क्षेत्रमा हेलीप्याड निमार्ण हुदा प्राकृतिक विपद्को समयमा उद्धारमा सहजताहुने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले बताए । उनले भने नेपाली सेनाले निमार्ण गरको हेलीप्याडको गाउँपालिकाले पूर्ण रुपमा संरक्षण गर्ने बताए । नेपाली सेनाले बोगटान क्षेत्रमा हेलीप्याड निमार्ण गर्दा सैनिक र नागरिक बिचको सम्बन्ध सुधारमा थप टेवा पुग्नुका साथै हेलिप्याड निर्माणबाट गाउंपालिकाका करिव १८हजार जना लाभान्वित हुने समेत अध्यक्ष गडसिलाले बताए ।
जिल्ला सदरमुकाम देखि बोगटान क्षेत्रका सबै क्षेत्रमा यातायातको सुविधा पुगेको छैन् । पुगेका स्थान सम्म यातायातका साधनको रुपमा महेन्द्राबोेलेरो जिपहरु सिमित संख्यामा मात्र जाने गर्छन् बोगटान क्षेत्रमा पुग्न ६ देखि १० घण्टा समय लाग्ने गर्दछ ।
डोटी जिल्लामा सदरमुकाम भन्दा बाहिर बनेको यो पहिलो हेलीप्याड हो ।