इटहरी । गुण्डागर्दी बिरुद्ध ईलाका प्रहरी कार्यालय इटहरीले विशेष अपरेसन शुरु गरेको छ। सोही क्रममा इटहरीलाई आधारक्षेत्र बनाएर गुण्डागर्दी गर्ने इटहरीका चर्चित टोलेगुण्डा अबिनाश लिम्बुसहित पाँचजना पक्राउ परेका छन्।
इटहरीका व्यवसायीहरुलाई धम्काउदै रकम असुली गरेको मौखिक उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको विशेष टोलिले इटहरी उपमहानगरपालिका ६ का ३२ बर्षिय अबिनाश लिम्बुलाई पक्राउ गरिएको इटहरी प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।
'पक्राउ परेका लिम्बु अन्य आपराधिक घटनामा समेत सुचना आएको छ, उक्त बिषयमा समेत अनुसन्धान गर्दैछौं।' डिएसपी भण्डारीले भने। 'यस अगाडी ज्यानमार्ने उद्योग सम्बन्धि मुद्दामा एक लाख धरौटीमा छुटेको अनुसन्धानमा खुलेको छ।'
पक्राउ परेका लिम्बू सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गतको दफा ११८ बमोजिमको मुद्दामा ३० हजार धरौटीमा छुटेको अनुसन्धानको क्रममा खुल्न आएको डिएसपी भण्डारीले बताए। इटहरीका ब्यापारीहरुलाई धम्की दिदै फिरौती असुल्ने धन्दा चलाएको सुचना पाएपछी मंगलबार (असोज १४ गते) प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले लिम्बूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गतको दफा ११८ बमोजिम मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट थप अनुसन्धानको लागि १० दिनको म्याद लिएको छ।

त्यस्तै गत सोमबार (असोज १३ गते) इटहरी बजारमा दिनदहाडै खुकुरी देखाउदै गुण्डागर्दीमा उत्रिएका चारजनालाई समेत इटहरी प्रहरीले पक्राउ गरेको छ। सोमबार (असोज१३ गते) दिउँसो डेढ बजेको समयमा सुनसरी इटहरी उपमहानगरपालिका ९ मा इटहरी १० कै सागर तामाङलाई लखेट्दै खुकुरी प्रहार गर्न खोज्ने इटहरी ९ का गोरे भन्ने अनिष सुबेदी, दोर्जे वाईबा, शिशिर बस्नेत र बोकी घिमिरेलाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेमध्येका गोरे भन्ने अनिष सुबेदीको साथबाट खुकुरी समेत बरामद भएको छ। घिमिरे पनि पटके अभियुक्त भएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ। उनी यसअगाडी ज्यान मार्ने उद्योग मुद्दामा पचास हजार रुपैयाँ धरौटीमा छुटेका थिए। पक्राउ परेका सुवेदी, वाईबा,घिमिरे र बस्नेतविरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गतको दफा ११८ बमोजिम मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट थप अनुसन्धानको लागि १० दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
गत महिना मात्रै इटहरी प्रहरीको कमाण्ड सम्हालेका डिएसपी धर्मराज भण्डारीले आपराधिक समुहविरुद्ध कठोर निति लिने संकेत गरिसकेका छन्। इटहरी प्रहरी प्रमुखको एकमहिने कार्यकालमा दर्जन बढी अपराधको सफल अनुसन्धान गरिसकेका भण्डारीको इटहरी आगमनले स्थानीय सर्वसाधारणले पुर्ण सुरक्षाको अनुभुती गर्न पाएको इटहरीका एक ब्यबसायी बताउँछन। कडा मिजासका डिएसपी भण्डारी नेपाल प्रहरीका ब्याबसायिक अधिकृत हुन्। उनी यसअगाडी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत थिए।
याे पनि
प्रहरीको ‘धर्म’मा अडिग डिएसपी भण्डारी