काठमाडौं । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित कमाण्ड एण्ड स्टाफ सि.सं.२९ का तालिमरत ९२ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको शुक्रबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अ
वलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले स्वागत मन्तव्य व्यक्त गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए ।
सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गरे ।
अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक दिप शम्शेर राणाले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । साथै उनले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताए ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले नेपाल प्रहरीकोतर्फबाट मायाको चिनो प्रदान गरेका उक्त कार्यक्रममा सेनानी दिल बहादुर गुरूङले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गरेका थिए ।
तालिमरत अधिकृतहरूमा ३ जना महिला र ८९ जना पुरूषको सहभागिता रहेको थियो । जसमध्ये अमेरिका, बेलायत, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, केन्या र नाईजेरीयाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूकोसमेत सहभागिता रहेको थियो ।