काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालन भएको ४०औं आइजिपि रनिङ शील्ड फुटबल प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गरे ।
आज भएको फाइनल खेलमा १ नम्बर प्रदेश प्रहरीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा १ नम्बर प्रदेश प्रहरी टीम विजेता र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टीम उपविजेता भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार रुपैयाँ र द्वितीय हुने टिमले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टीमका प्रहरी जवान विवेक पाण्डे सर्वोत्कृष्ट खेलाडी, १ नम्बर प्रदेश प्रहरी कार्यालय टिमका प्रहरी जवान सन्देश बि.क. सर्वाधिक गोलकर्ता र गण्डकी प्रदेश प्रहरी कार्यालय टीमले फेयर प्ले अवार्ड प्राप्त गरी १०/१० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।
माघ २० गतेबाट संचालन भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयको टीम गरी जम्मा १० टीमको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी अधिकृतहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।