काठमाडौं । लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ३ जना चालकलाई काठमाडौंको बुढालिनकण्ठबाट शुक्रबार बिहान ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेहरूमा बा१८च ८४३७ नम्बरको पिकअप जिपका चालक काठमाडौंको डल्लु बस्ने गणेश कार्की, बा १६ प ४४९१ नम्बरको मोटरसाइकलका चालक बुढालिनकण्ठ बस्ने अंकित भट्टराई र बागमती प्रदेश-०२-०३१ प ४८८ नम्बरको मोटरसाइकलका चालक बुढानिकण्ठमै बस्ने सुमन रावत रहेका छन् ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बुढानिलकण्ठको संयुक्त टोलिले बुढानिलकण्ठ क्षेत्रमा २० ओटा सवारी साधन चेक गर्दा ३ जना चालकले लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको पाइएको थियो ।
लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
नशा लाग्ने पदार्थहरू सेवन गरी सवारी साधन चलाउँदा मानिसको शारीरिक तथा मानसिक दुर्वलता निम्त्याउनुको साथै मस्तिष्क, मुटु र फोक्सोजस्ता संवेदनशील अङ्गहरूमा आघात पारी मानवीय स्वास्थ्यमा नै खराब असर पर्ने हुन्छ ।
लागूपदार्थले मानिसलाई आलस्यजनक, भ्रमात्मक र उत्तेजक बनाउने गर्दछ जसका कारण सवारी दुर्घटना लगायतका अन्य अकल्पनिय घटनाहरू हुने भएकाले मानव स्वास्थ्यमा नकरात्मक असर पर्ने कुनै पनि नशालु पदार्थहरू सेवन तथा प्रयोग गरी सवारी साधन नचलाउन चालकलाई प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध समेत गरेका छन् ।