काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीद्वारा आयोजित राष्ट्रिय दलित आयोगका पदाधिकारी एवम् कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधान, ऐन र कानूनलाई क्रियाशिल बनाउन राष्ट्रिय दलित आयोगको गठन भएको र आयोगको भूमिकालाई प्रभावकारी बनाउन र दलितसँग सम्बन्धित कानूनको कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै कानून कार्यान्वयनमा नेपाल प्रहरीले अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
दलित विरूद्ध दैनिक जसो घटना घटिरहेको भएता पनि मुद्दा दर्ता अत्यन्त न्यून रहेको बताउँदै राष्ट्रिय दलित आयोगका अध्यक्ष विश्वकर्माले पहुँच नहुनेहरूको लागि न्यायको सबैभन्दा पहुँच हुने कार्यालय नै प्रहरीको हुने भएकोले प्रहरीले कुनै पनि विभेद नगरी न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । समाजिक सञ्जाल मार्फत दलित समुदायको मान प्रतिष्ठमा आँच आउने गतिविधि हुने गरेकोले त्यस्ता गतिविधिमा संलग्नलाई कानूनको दायरामा ल्याउन आग्रह गर्दै अध्यक्ष विश्वकर्माले शक्ति र सार्वजनिक पद धारण गरेको आधारमा दलित माथि दमन र दुर्व्यहार गर्ने कार्यलाई निरूत्साहित गर्न प्रहरीले आवश्यक कार्य गर्नुपर्ने बताए । साथै उनले आयोगप्रति नेपाल प्रहरीको अपेक्षालाई कार्यान्वयन गराउन आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै दलितको विषयमा शून्य सहनशिलता नीति अपनाएर सोही अनुरूप दलितहरूको समस्यालाई सम्बोधन गर्न राज्यका सवै सरोकारवाला निकायहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समेत बताए ।
सो अवसरमा राष्ट्रिय दलित आयोगकी सदस्य मीना देवी सोवले राष्ट्रिय दलित आयोग र नेपाल प्रहरीवीचको यो अन्तरक्रिया अत्यन्तै प्रभावकारी भएकोले हरेक तीन/तीन महिनामा यस्ता अन्तरक्रिया आयोजना हुनुपर्ने बताए । साथै उनले यस्तो अन्तरक्रिया कार्यक्रममा महिला प्रहरीको सहभागीता बढाउन समेत आग्रह गरे ।
यसै अवसरमा राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्कीले स्कुले जीवनमा प्रहरीबाट प्राप्त प्रेरणालाई स्मरण गर्दै आफू प्रहरी संगठनप्रति सकारात्मक र प्रहरी कर्मचारीप्रति हार्दिकता रहेको बताए । नेपाल प्रहरीले दलित सेल गठन गरेको प्रति धन्यवाद व्यक्त गर्दै जातीय विभेदका घटनामा निर्मम ढंगले अनुसन्धान गर्न समेत उनले आग्रह गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीले गर्ने कामहरू कनूनको दायराभित्र रहेर सम्पादन हुने उल्लेख गर्दै नेपाल प्रहरीले नियमित रूपमा आयोगसँग समन्वय गरी दलितसँग सम्बन्धित समस्या समाधान गर्न सदैव प्रतिवद्ध रहेको बताए ।
प्रहरी महानिरीक्षक सिंहले दलित समुदायलाई होच्याएर वा प्रतिष्ठामा आँच आउने गतिविधि गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउन समेत प्रहरी क्रियाशिल रहेको बताउँदै सामाजिक सञ्जालमार्फत देश बाहिर रहेर त्यस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिन कठिन भएता पनि त्यसतर्फ समेत आवश्यक कदम चालिने बताए । दलितहरूको प्रतिनिधित्वका लागि नेपाल प्रहरीको भर्ना प्रकृयामा राज्यले अंगिकार गरेको समावेशी प्रावधानलाई अक्षरस पालना गरिएको समेत उनले बताए । सो अवसरमा उनले नेपाल प्रहरी दलित समुदायको सबैभन्दा बढी प्रतिनिधित्व भएको संगठन रहेको बताउदै दलित समुदायको प्रतिनिधित्वको लागि नेपाल प्रहरी सदैव सकारात्मक रहेको समेत बताए । राष्ट्रिय दलित आयोगका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थितिका लागि आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर रुपमा अन्तरक्रिया आयोजना हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा राष्ट्रिय दलित आयोगका निमित्त सचिव मनिता श्रेष्ठले नेपाल प्रहरीमा दलित समुदायको प्रतिनिधित्व उत्साहजनक रहेको चर्चा गर्दै नीतिगत सुधारको लागि प्रहरीबाट लिखित सुझावको अपेक्षा रहेको र यसले आगामी दिनमा योजना निर्माण र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सेवाग्राहीको विभेदसँग सम्बन्धित मुद्दाहरूको उचित सम्बोधनमा महत्वपूर्ण दायित्व निर्वाह गर्न समेत उनले नेपाल प्रहरीलाई आग्रह गरिन् ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले दलित समुदायको हकहित संरक्षणमा नेपाल प्रहरी अन्तर्गत दलित समुदायसँग सम्बन्धित नेपालमा विद्यमान कानूनी व्यवस्था, नेपाल प्रहरीमा दलित समुदायको प्रतिनिधित्वको वर्तमान अवस्था, दलित सेलको काम कर्तव्य, दलित समुदाय माथि हुन सक्ने अपराध, विभेद, हिंसा र यसका स्वरूपहरू, दलित समुदायका नागरिकहरूलाई प्रहरी सेवा प्रवाह तथा कामकारवाहीमा प्रहरी कर्मचारीले ध्यान दिनुपर्ने कुराहरू सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
अन्तरक्रियामा सहभागीहरूले जातीय विभेद लगायत दलितसँग सम्बन्धित समस्याहरूको समाधानका सम्बन्धमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।