भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने २४ प्रहरी नगदसहित पुरस्कृत भएका छन् भने ७ जना अनुशासनको कारवाहीमा परेका छन् ।
पुरस्कृत हुनेमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी नायब उपरीक्षकसहित १३ जना, प्रहरी वृत्त ठिमीबाट प्रहरी निरीक्षकसहित ५ जना र प्रहरी वृत्त जगातीबाट प्रहरी नायब निरीक्षकसहित ६ जना गरी कुल २४ जना रहेका छन् ।
परिसरले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा आफूलाई सुम्पिएको जिम्मेवारी इमान्दार एवं बफादार कर्तव्यनिष्ट भई उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने, अपराध रोकथाम नियन्त्रण तथा प्रभावकारी अनुसन्धान गर्ने, बालसुधारबाट फरार बाल बिज्याँईकर्तालाई खोजतलास गरी पक्राउ गर्ने, राजमार्गमा ट्राफिक प्रहरीसंग समन्वय गरी प्रभावकारी सडक सुरक्षा व्यवस्था प्रवाह गर्ने, लागूऔषध नियन्त्रण एवं पक्राउ गर्ने साथै दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको परिसरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रजित केसीले जनाकारी दिए ।
त्यसैगरी चालु आर्थिक वर्ष प्रहरी आचरण विपरीत कार्य गर्ने, डिउटीमा मादक पदार्थ सेवन गरी लापरवाही गर्ने, आफुखुशी कार्यालय छोडी अनुपस्थित रहने ७ जना प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने, दर्जा घटुवा, बढुवा रोक्का, नसिहद जस्ता कारवाही गरिएको एसपी केसीले बताए ।
प्रहरी प्रशासनको कार्य उत्कृष्ट बनाउने, उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्य सम्पादन गर्ने तर्फ उत्प्रेरित गर्ने उद्देश्यलेजिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहत वृत्तहरु र प्रभागहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको एसपी केसीले जनाकारी दिए ।