काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबार व्यूरो भोटाहिटी र KOICA (Korea International cooperation Agency) को संयुक्त आयोजनामा साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि दुई दिवसीय दोस्रो क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी काठमाडौंमा बिहीबार शुरू भएको छ ।
गोष्ठी शुभारम्भ गर्दै साइबर व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले साइबर अपराधमा भएका अपराधका ढाँचा, साइबर अपराधमा प्रयोग भएका विभिन्न प्रविधि र अन्तर्राष्ट्रियस्तरमा साइबर अपराध नियन्त्रणमा भएका प्रयासहरू लगायतका विषयमा गोष्ठीमा छलफल तथा अन्तरक्रिया हुने भएकोले सहभागी प्रहरी कर्मचारीहरूले गोष्ठीबाट बढी भन्दा बढी फाइदा लिनुपर्ने बताए ।
उक्त अवसरमा KOICA नेपालका प्रोजेक्ट मेनेजर प्रो.Gibum kim ले कोइका परियोजना सम्बन्धमा विषयमा जानकारी दिँदै कार्यशाला गोष्ठीमार्फत सहभागीहरूले साइबर अपराध अनुसन्धान र डिजिटल फरेन्सिकको बारेमा नयाँ जानकारी हासिल गर्ने विश्वास व्यक्त गरे । साथै साइबर अपराध अनुसन्धान र डिजिटल फरेन्सिकको क्षेत्रमा भएको अनुभव समेत गोष्ठीमा आदानप्रदान गरिने उनले बताए ।
गोष्ठीमा कोरियास्थित विश्वविद्यालयका प्रोफेसरहरूले Introduction of Criminal Justice and role of prosecutors in Korea, International legal framework on cyber crime, Trasnborder access to the cloud data and jurisdiction, Artificial intelligence in digital Forensics र Cyber Security threats and the police’s response लगायतका विषयमा प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । मानवअधिकार, डिजिटल फरेन्सिक एन्ड इन्टरनेशनल कन्भेन्सन सम्बन्धी जानकारी प्रदान गरी साइबर अपराधविरुद्ध नेपाल प्रहरीको क्षमतालाई सुदृढ गर्ने उद्देश्यले उक्त कार्यशाला गोष्ठी आयोजना गरिएको उक्त अवसरमा जानकारी दिइयो ।
शुक्रबार सम्पन्न हुने उक्त गोष्ठीमा KOICA नेपालका प्रतिनिधिहरू, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, साइबर व्यूरो, सूचना प्रविधि निर्देशनालय, डिजिटल फरेन्सिक ल्याब र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ ।