प्रहरी उपरीक्षक केदार खनाल । हत्या हिंसाका घटनाहरु हिजो पनि थिए, यो आदि काल देखीनै चलिआएको श्रृंखला हो जब जब घटनाहरुमा बढोत्तरी हुदै गयो, त्यस पछि मात्र कानूनको आवश्यकता महसुस गरियो । कानूनहरु बने सँगै अपराधका प्रकृती र प्रवृत्ति समेत परिवर्तन हुँदै आएको छन् ।
हिजो हुने अपराधहरुमा घरदेखि बाहिरका, नचिनेका व्यक्तिहरु संलग्न हुन्थ्यो भनेआज घर भित्रैका, चिनजानका आफन्तहरु भेटिने गरेका छन् । यसले के देखाउँदछ भने अपराधका जराहरु यति धेरै छरपष्ट हुदै छन् कि समाजसँग अपराध एकदमै नजिक छ, जुनसुकै बेला घटना घट्न सक्ने अनुमान लगाउन सकिन्छ । यहि हप्ता मात्रै सुर्खेतमा श्रीमतीको टाउको काटेर प्लाष्टिकको झोलामा राखी हिडिरहेको व्यक्ति पक्राउ पर्यो, कैलालीमा भिनाजुले सालोलाई धारिलो हतियार प्रयोग गरि हत्या गरे त्यसै गरि बैतडीमा सशस्त्र प्रहरी जवानले आफ्नै प्रेमिकालाई धारिलो हतियार प्रयोग गरि हत्या गरे भने देशको राजधानीमा एउटा सम्भ्रान्त परिवारले विवाहको लागि टिकोटालो गरि सकेको अवस्थामा विवाह नहुने भनि भनिदिंदा एक अवोध बालिकाले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाई ईहलिला समाप्त गरिन् । यी त प्रतिनिधि घटनाहरु मात्र हुन । हिजोको दिनमा ठुला, गुरुवर्गले गालि गरे, कुटे पनि आफ्नै भलाईका लागि हो भनेर सकारात्मक रुपले ग्रहण गरिन्थ्यो भने आज अर्ति उपदेशलाई समेत प्रतिशोध, घृणा नकारात्मक ढंगले ब्याख्या गर्ने गरिन्छ । यो नकारात्मक सोच नै अपराधको जड हो । हामिले समाजलाई सकारात्मक सोचमा बदल्न नसक्नुको परिणामले अपराधमा वृद्धि गराएको छ ।
हुन त आजको समाजलाई गहिरिएर हेर्ने हो भने क्रुरताका बीचमा भ्रष्ट, नकारात्मक र चरित्रहिन हुदै गईरहेको छ ।जिउँदाका जन्ति र मर्दाका मलामी जस्ता कालजयी उखानहरु विस्तारै विलिन हुदैछन् । कतिपय तथ्यहरु विश्वासका आधारमा प्रतिविम्वीत हुन्थ्यो । एकले अर्कालाई हेर्ने दृष्टिकोण आत्मिय थियो । अपराध नियन्त्रण गर्ने संयन्त्र नै नहुँदा पनि समाजले त्यसको निरुपण गर्थ्यो । चोरीका घटनामा चामल खुवाएर यथार्थ पहिल्याईन्थ्यो । आज प्रविधिको विकाश सँगै अपराधको तौर तरिकामा पनि परिवर्तन भएका छन् । तसर्थ पनि, समकालिन समाजमा हुने हत्या, हिंसा, वलत्कार, अपहरण जस्ता घटनाहरु घट्नु पछाडिका कारणहरुको विश्लेषण गर्नु जरुरी छ । परिवार देखि बिद्यालय सम्म दिईने शिक्षा, खानपान देखि संस्कारगत कुराहरु, खोजिएको स्थिरता देखि भेटिएको अस्थिरता सम्मले समाजको गतिलाई धरमर बनाएको छ । सामाजिक र नैतिक मूल्य मान्यताहरु स्रवलित भएका छन् । जसका कारण गलत क्रियाकलापले समाजमा प्रश्रय पाएका छन् । अपराध समाजमा नै हुने एउटा गैह्र चरित्र हो । तथापी, समाज भित्रै हुने हुँदा समाजको दायित्व र जिम्मेवारी पनि उत्तिकै हुनु पर्दछ। कानून त केवल अपराध भैसके पछिको उपाय हो, तर अपराध घट्न नदिनुमा समाजको भूमिका महत्वपूर्ण हुन आउँदछ । अहिले समाज ईर्श्या, लोभ, प्रतिशोध, महत्वकांक्षाको भुमरीमा जकडिएको छ,जहाँ सहज गतिविधि नै भएका छैनन् । समाज भाडिएको छ, विभाजित छ, यो कुनै विचारमा मात्र नभई प्रवृत्तिमा देखिन्छ । यसले दिने उत्तर भनेको अव्यवस्था र असावधानी नै हो ।
यहाँ नेर यथार्थ के हो भने व्यक्ति व्यक्ति मिलेर परिवार बन्छ, परिवार परिवार मिले समाज बन्छ । तिनै समाजबाटै राष्ट्र बन्ने हुँदा राज्यको कामकारवाही त्यही समाजले गरेको क्रियाकलापमा प्रतिबिम्बित हुनेगर्दछ । कानून त मान्नेका लागि हो झगडालु खेलाडीलाई सयौ नियम बनाए पनि झगडा गर्न छोड्दैन, यो त प्रवृत्ति हो । तसर्थ पनि हाम्रो समाजको परिवर्तनको केन्द्र परिवारलाई बनाउदै राज्यले उपलब्ध गराउने शिक्षा, स्वास्थ्य लगायत बनाउने कानूनमा समेत कुनै छिद्र नभेटिने गरि सेवा उपलब्ध गरिनु पर्दछ ।
अहिलेसम्म हामीले अहंकार, रिस, ईर्श्या, महत्वकाक्षा सिकायौं, साथसाथै कुरता र संवेदनहिनताको अभ्यासमा लिप्त भयौं, धेरै भईसक्यौ, त्यसैले अब भातृत्व, समभाव, प्रेम, सहअस्तित्वको बाटो अगाल्नु अपरिहार्य भईसकेको छ । यसका लागि कल्याणकारी राज्यको अवधारणा अनुरुप केन्द्र देखी गाँउ सम्म दिईने सेवा सुविधाको न्यायोचित वितरण, सुक्ष्म मूल्याङ्कन गरि फलदायी परिणाम निकाल्न आवश्यक छ । सुन पनि कसिमा नहाली जाचिन्न । यी र यस्ता तथ्य र यथार्थहरुलाई बेलैमा मनन् गरि अगाडी बढ्यौ भने आगामी दिनमा हुने अपराधका घटनामा कमि आउने थियो कि ! (प्रहरी उपरीक्षक खनाल जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी प्रमुख हुन् ।)