प्रहरी उपरीक्षक केदार खनाल । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहँदा सान्दर्भिक कार्यक्रमहरु पनि चलिरहेका छन् । सबै लिंगका मानिसहरुको उपस्थिति सहानीय देखिन्छ । नोभेम्बर २५ देखी डिसेम्बर १० सम्मको यो कार्यक्रम मनाईरहँदा वास्तवमै सतही जस्तै देखिएको छ किनकि हामीले कार्यक्रम केवल १६ दिनको होइन कि ३६५ दिन नै मनाउनु पर्ने हो । यो हरेक ब्यक्ति, घर, छिमेक, गाउँ र सम्पूर्ण राज्य नै यसमा समाहित भएर म हिंसामा उत्रदिंन भन्ने प्रतिज्ञालाई सबैको आत्मा र स्व:आत्मा भित्र राखिनुपर्छ ।
समाज यति धेरै बिकृत हुँदै गईरहेको छ कि हरेक दिनको बिहानीमा आउने समाचारहरुले चित्रित गरेको छ । हाम्रो समाजको संरचनाले बहुल संस्कृतिलाई अँगाल्दै गर्दा दाई र भाई या दिदीबहिनीका मात्र कुरा रहेनन् । हाम्रो समाज त्यही संस्कृतिभित्र यति बिभाजित र नकारात्मक बन्न पुग्यो कि आफ्नो नजिकको राम्रो र अर्को सोह्रै आना गलत । यसले समाजको सकारात्मक गतिलाई धिमा बनाएको छ । अपराध समाज भित्रै लुकेको छ, भनौं कालो रसेतोको नाममा त्यही भित्र गुम्सेको छ । यसले गर्दा unreported crime को संख्या बढ्न जाँदा अदृश्य रुपमा यस्ता अपराधहरुले बढवा पाई अपराधको श्रृंखला बढ्न गएको पाईन्छ ।
दैनिक जसो बालबालिका माथि हुने हिंशाका घटनाहरु कुनै न कुनै रुपबाट बढोत्तरी भइरहेको छ । घर या स्कुलवा समाज सबैतिर हेर्दा र त्यसबाट परिलक्षित घटनाक्रमहरु यति कारुणीक बन्दै गएका छन कि कल्पना गर्न समेत सकिंदैन । स्कुल पढ्दै गरेका कलिला बालिकाहरु माथि शिक्षकबाट भएका यौन दुर्ब्यवहार देखि ७२ बर्षीया बृद्धले ७ बर्षीया बालिकालाई गरेको करणी सम्मले समाज यति बिकृत र कलंकीत भएको छ कि यसको मापन नै छैन् । यसका अलावा यस्ताजघन्य अपराधका घटनाहरु पनि ढाकछोप गर्ने जुन सामाजिक परिवेश देखिन्छ, त्यसले समस्याहरुलाई झन् बिकराल बनाउंदैछ ।
हिंसाको जड स्वयं परिवार भित्रै देखिंदा यसले दिने सन्देशले भावी दिनहरु अझ बढी पिडादायी हुन्छन् भन्ने कुरामा द्धिविधा रहेन हामीले भोगिरहेको समाज र हामीले कल्पना गरेको समाज हेरौं, यसबाट पनि हाम्रो धरातल कहाँ छ भन्नेमा सबै पक्ष जानकार हुन सक्नु हुनेछ । तसर्थ पनि लैंगिक हिंसा बिरुद्धको अभियानको सार्थकताका लागि आधार बिन्दु पहिचान गरि निराकरण गर्न केन्द्रित हुन जरुरी छ ।
हाम्रो समाजमा अझ बिकराल देखिएको आत्महत्याका घटनाहरुत झन बढि अत्यासलाग्दा देखिन्छन । गरिबी,अशिक्षा,बैदिशिक रोजगार,सामाजिक संजाल आदिका कारण हुने यस्ता घटनाहरुका पछाडी समाजको उपस्थिती के भयो र के हुन सक्यो ? प्रश्न जटिल छ । ९ बर्षिया बालिका देखि ६७ बर्षिया बृद्धसम्मले गरेका आत्महत्याका घटनाहरुले समाजको बिधमान उपस्थितिलाई ललकारी राखेको भान हुन्छ । यस्तो अवस्था पनि हामी के कुरामा एकिन हुन सकेका छैनौं भने यस्ता घटना घट्नुका पछाडीका कारण र तथ्य आज पनि निरुत्तरित छन् । घटना घटिसकेपछि आग्रह र पुर्वाग्रह राखी बढाइने कानुनी प्रक्रियाले एकछिन त पिसावको न्यानो हुन सक्छ तर त्यसले भविष्यमा समाजमा पार्न सक्ने असरको मुल्यांकन गरिनुपर्थ्यो, गरिएन । पीडितले न्याय प्राप्त गर्न सहज पहुँचको सट्टा कानून खेलाउनेहरुको जय हुन पुग्यो ।जसका कारण समाज बिभक्त बन्यो, न्यायका अवयवहरुलाई अपाङ्ग बनाउने कार्य हुन थाल्यो, तब न अपराधमा बृद्धि हुन गयो । यो शास्वत सत्यलाई आजपनि स्व-मुल्यांकन नगर्ने हो भने भोलीका दिन झन् कुरुप हुन जान्छन भन्ने कुरामा दुईमत छैन ।
गोरखा जिल्लाको आ.व.२०७८।०७९ र आ.व.२०७९।०८० को तथ्याङ्कलाई हेर्दा वार्षिक रुपमा अपराध बढेको पाईन्छ ।
हामीहरु हरेक बर्षका घटनाका तथ्यांकहरु हेर्दै चिन्तित हुन्छौं, जिब्रो टोक्छौं, एक छिन घोत्लिन्छौ पनि, समस्याका वारेमा छलफल विवेचना पनि गर्छौं । तर घटनाका बिषय र घटना घट्ने क्षेत्रका विषयमा हामी केहीपनि गर्दैनौं । कुन र कस्ता घटना कसरी घटे र त्यस्ता घटना पुन: नघट्न हाम्रो सक्रियता के हुने भन्ने कुरा अस्पष्ट नै रहने गरेको यथार्थ देखैकै छौं ।
तसर्थ पनि यस जिल्लामा घटेका घटनाहरुको तथ्यांकहरुलाई हेरी मुल्यांकन गरि यसै अनुसार भावी योजना हरु बनाउनु जरुरी छ । बाँचे संसार देख्न पाईन्छ भन्ने तथ्यलाई गाउँगाँउमा पुर्याउ, हिंसाका बारेमा आँफैबाट अन्त्य गर्ने प्रण गरौं । म पनि गर्दिन,तपाई पनि नगर्नुहोस भन्ने महान भावनाको बिकास गरौं । असल र सभ्य समाज निर्माणमा राज्यको सहभागिता परिणाममुखी बनोस यहि कामना साथ लैंगिक हिंसा बिरुद्धको अभियानले सार्थकता पाओस् । (प्रहरी उपरीक्षक खनाल जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी प्रमुख हुन् ।)