काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-११ थापाथलीमा बागमती प्रदेश-०२-०१९ प ३१९५ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा बरियारपुर घर भएका ४४ वर्षीय राम बाबुप्रसाद कुसहवा रहेका छन् । उनको आइतबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचार भइरहेको छ ।
यसैगरी भक्तपुरको भक्तपुर नगरपालिका-१ च्यङ्गा गणेश मन्दिर ननिक सडकमा बा।७ च ०८१५ नम्बरको कारले प्रदेश-०२-०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका–१ बस्ने २३ वर्षीय सन्दिप बस्नेत छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको डा.इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका-७ गोठगाउँस्थित सडकमा को.३१ प ७२६६ नम्बरको मोटरसाइकल र बीआर ३८ एन २२०२ नम्बरको कार शनिबार बेलुकी ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक केराबारी गाउँपालिका-७ बस्ने ४२ वर्षीय उत्तम कुमार मगर छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धादिङको ज्वालामुखी गाउँपालिका-४ टारीस्थित सडकमा ग.१ ज. ५५८० नम्बरको बोलेरो शनिबार बेलुकी दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बोलेरो चालकसहित ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल धादिङ पठाइएकोमा ५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको उपचार भइरहेको छ ।
उपचार पश्चात् डिस्चार्ज भएका बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।