काठमाडौं । नेपाल प्रहरीमा तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी रिक्त भएको छ । मंगलबारदेखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अरुणकुमार बिसिले ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि प्रहरीमा तीन एआईजीको दरबन्दी रिक्त भएको हो ।
नेपाल प्रहरीमा यसअगाडी दुई एआईजीको दरबन्दी रिक्त थियो । एआईजीद्वय विश्वराज पोखरेल र मुकुन्दराज आचार्यले एआईजीको ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि दुई एआईजीको दरबन्दी रिक्त भएको थियो ।
गत साउन १९ मा एआईजी पोखरेलले अनिवार्य अवकाश पाएपछि आफ्नो ब्याचको बरियतामा तेस्रो नम्बरमा रहेका डीआईजी अशोक सिंहले एआईजीमा एकल बढुवाको लागि भरमग्दुर प्रयास गरेका थिए । डीआईजी सिंहलाई एआईजीमा एकल बढुवाको लागि शक्तिकेन्द्रबाट व्यापक दबाब आउन थालेपछि आईजीपी धिरजप्रताप सिंहले ब्याचबाट एकजनालाई मात्र बढुवा गर्दा अन्य डीआईजीहरुमाथी अन्याय हुने भन्दै बढुवा प्रक्रिया अगाडी नबढाउने अडान लिएका थिए ।
उच्च स्रोतका अनुसार यहि कार्तिक २४ गते उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको जिम्मेवारीमा रहेका एआईजी रबिन्द्रबहादुर धानुकले पनि ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउदैछन् । धानुकको अवकाशपछि नेपाल प्रहरीमा चार एआईजी पद रिक्त हुने र त्यसपश्चात् मात्रै चार डीआईजीलाई एआईजीमा बढुवाको लागि सिफारिस गर्ने आईजीपी सिंहको अडानमा पछिल्लो समय सरकारले समेत समर्थन जनाएको बुझिन आएको छ ।
एआईजी बढुवाको लागि जेष्ठतामा आईजीपी धिरजप्रताप सिंहकै ब्याची डीआईजीहरु नलप्रसाद उपाध्याय, मसाउद आलम खाँ र मोहनकुमार आचार्य पनि दावेदार छन् । तर भावी नेतृत्वको प्रतिस्पर्धाको लागि पछिल्लो ब्याचका चार डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने सरकारी रणनीति छ ।
निर्वाचन आचारसंहिता जारी भएको अवस्थामा बढुवाको लागि निर्वाचन आयोगबाट सहमति लिने वा मङ्सिर ४ को निर्वाचनपछि एआईजी बढुवा सिफारिस गर्ने भन्ने विषयमा अझै प्रष्ट भइसकेको छैन । पछिल्लो ब्याचबाट डीआईजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापाले आगामी मङ्सिर महिनामै एआईजीको फुली लगाउने पक्कापक्की भएको बुझिएको छ ।
डीआईजी कुँवर, राई, सिंह र थापा यहि २०७९ असार १७ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । डीआईजी कुँवर प्रहरी प्रधान कार्यालयको कार्य विभागको निमित्त प्रमुख, डीआईजी राई केन्द्रिय प्रहरी प्रवक्ता, डीआईजी सिंह विशेष ब्यूरो प्रमुख र डीआईजी थापा प्रहरी प्रधान कार्यालयको प्रशासन विभागको निमित्त प्रमुख तथा प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।