डोटी । डोटी जिल्लामा प्रहरी प्रशासनसंग सम्बन्धित कुनै पनि सवालहरु सञ्चारमाध्यममा आएमा विशेष प्राथामिकताका साथ हेरिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद धमलाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीले आइतबार कार्यालयमा आयोजना गरिएको सञ्चारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा एसपी धमलाले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा सहभागि पत्रकारहरुले खुल्ला छलफलमा बोल्दै संचार माध्यममा आएका कुरालाई प्रहरीले चासोका साथ लिइदिनुपर्ने, विभिन्न घटनाबारे सूचना आदानप्रदान सहज र प्रभावकारी बनाइनुपर्ने, अबैध चोरी सिकारीलाई नियन्त्रण गर्न भूमिका खेल्नुपर्ने, सिमा नाकाहरुमा कडाईका साथ चेकजाँच अघाडी बढाउनु पर्ने, जिल्लामा मदिराको व्यवस्थापनमा प्रहरीले सक्रिय भूमिका खेल्नुपर्ने, सवारीसाधनमा यात्रु ओभर लोड राख्दा हुनसक्ने जोखिम न्यूनीकरणका लागि कडाइका साथ लाग्नुपर्ने, सरकारी सवारीसाधनको दुरुपयोग नियन्त्रणमा लाग्नुपर्ने, मिडियासंगको समन्वय र सहकार्य नियमित र सुमधुर कायम राख्नुपर्ने लगाएतका सवाल उठान गर्नुका साथै सुझावको रुपमा राखेका थिए ।
पत्रकारहरुले उठाएका सवालहरुलाई पूर्ण कार्यान्वयनको पाटोमा अघि बढाउने बताउदै एसपी धमलाले पत्रकारहरुले जानकारी पाएका कुनै पनि घटनाबारे प्रतक्ष्य आफुलाई फोन कल गर्न आग्रह गर्दै तुरुन्तै प्रहरीले कारबाही अगाडि बढाउने समेत बताए । घटनाको यथार्थ लोकेशन (घटना स्थल) को सकिन्छ भने लाइभ (प्रत्यक्ष) भिडियो सहित जानकारी दिन आग्रह गर्दै जानकारी दिने व्यक्तिको नाम र स्रोत गोप्य राखिने पनि बताए ।
परिचयात्मक कार्यक्रममा एसपी धमलासंगै प्रहरी नायब उपरीक्षक भोला भट्ट, प्रहरी निरीक्षक देवेन्द्रराज जोशी डोटी जिल्लामा विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मिहरुको सहभागिता रहेको थियो ।