काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-१ घर भएका ४२ वर्षीय गोर्खमान तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ माघ १९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, नगद ६ लाख रुपैयाँ जरिवाना र नगद २४ हजार रुपैयाँ क्षतिपुर्ती शुल्क भराउने सजाय भई फरार भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल ललितपुरबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल पठाइएको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वर बस्ने खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ घर भएकी ३५ वर्षीया माया बस्नेत थापालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
९० लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पटान ललितपुरबाट पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-१६ बङ्गलामुखीबाट पक्राउ गरेको हो ।
साथै थापाले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी ठगी गरेको सम्बन्धमा वैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पूर्जी समेत जारी भएको खुल्न आएको छ ।
उनलाई आवश्यक कारवाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाइएको उक्त कार्यालयले जनाएको छ ।