काठमाडौं । काठमाडौं महानगरपालिका-७ चाबहिल सरस्वतीनगरमा खाजा पसल सञ्चालन गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-१० स्थायी वतन भएकी ५३ वर्षीया महिलाको सुनको सिक्री, कुण्डल, फूली, औंठी र नगद लगायतका धनमाल डाँका गरेको कसूरमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल सरस्वतीनगर बस्ने मकवानपुर छतिबन गाउँपालिका-४ घर भएका २४ वर्षीय उत्तम तामाङ, गोकणेश्वर नगरपालिका-६ जोरपाटी बस्ने २२ वर्षीय भुपाल श्रेष्ठ, काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने सिन्धुपाल्चोक घर भएका २४ वर्षीय कबिरजंग कुँवर, काठमाडौं दक्षिणढोका बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका घर भएका २२ वर्षीय कल्याण कुमार सुबेदी र काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने सिन्धुपाल्चोक तौथली गाउँपालिका-५ घर भएका ४५ वर्षीय बुनु श्रेष्ठ रहेका छन् ।
कुकुरलाई दिशा गराउन भनि साउन ८ गते बिहान ३ बजे पसलको सटर खोल्दा तत्काल नाम, थर, वतन नखुलेका ३ जना ब्यक्तिहरू सटरभित्र प्रवेश गरी ती महिलाको हात, खुट्टा कपडाले र मुखमा टेपले बाँधेर कुटपिट गरी उक्त धनमाल डाँका गरेको भन्ने सूचनाको आधारमा प्रहरी बृत्त गौशाला, बौद्ध र मालीगाउँ समेतबाट खटिएको संयुक्त प्रहरीले कपन, जोरपाटी र माकलबारी लगायतका स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उतम तामाङको साथबाट नगद २२ हजार ५ सय रूपैयाँ, भुपाल श्रेष्ठको कोठाबाट आधा तोला बराबरको १ जोर सुनको कुण्डल, १ थान औंठी, १ थान पहेँलो रङको घडी र १ थान मोबाइल लगायतका दशी प्रमाण बरामद गरेको छ ।
उनीहरू उपर डाँका गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।