दाङ । दाङमा एक जनालाई बन्धक बनाई ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङको बबई गाउँपालिका-३ बस्ने ३५ वर्षीय लिलाराम विक, ३५ वर्षीय मार्सल भन्ने नेपबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका-४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल विक, कपिलवस्तुको शिवराज नगरपालिका-९ बस्ने २० वर्षीय मनोज थारू, प्युठानको गौमुखी गाउँपालिका-७ घर भई दाङको तुलसीपुर उपमहानगरपालिका-६ हातीखौवा बस्ने २४ वर्षीय जनक कुवँर र तुलसीपुर उपमहानगरपालिका-७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा छन् ।
दैलेखको चामुन्डाबिन्द्रसैनी नगरपालिका-३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई नगद ७ लाख फिरौती माग गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा सोमबार राति बुटवल बसपार्कमा दैलेख जाने गाडी खोजिरहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी ‘आफन्तको गाडी छ, बुटवल पुल्चोकसम्म आउनु, ड्राइभरलाई तपाईंको नम्बर दिन्छु’ भनी बताएको र केही समयपछि लिलाराम विकसमेत ५ जनाले पीडितलाई कुटपिट गरी बागमती प्रदेश-०१-२५ च ८७२९ नम्बरको गाडीमा राखेर दाङको तुलसीपुर उपमहानगरपालिका-५ सल्यान रोडस्थित युवम होटलमा बन्धक बनाई उक्त रकम फिरौती माग गरेको खुलेको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पीडितलाई बन्धक बनाई राखेको होटलबाट सकुशल उद्धार गरी घटनामा संलग्न उनीहरूलाई उनीहरूले प्रयोग गरेका गाडीसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।