काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहिबार आयोजित एक समारोहकाबीच सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को यही साउन २ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ ८९ जना र सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूह तर्फका ७ जना जुनियर अधिकृतहरु गरी जम्मा ९६ जना सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा भएका थिए ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लामो सयम जुनियर अधिकृत दर्जामा रहँदाको अनुभवलाई संगठनको हित र उच्चतम् विकासमा योगदान पुर्याउन निर्देशन दिंदै बढुवा भएका अधिकृतहरुलाई बधाई तथा आगामी दिनको कार्य सफलताको शुभकामना समेत व्यक्त गरे ।
उनले संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकास र उन्नतिको लागि संगठनले हर सम्भव प्रयास गरिरहेको उल्लेख गर्दै कार्य सम्पादन मूल्यांकन तथा चुनौतीपूर्ण कार्यको मूल्यांकनलाई यथार्थपरक बनाउनुको साथै व्यावसायीक कार्यशैलीको निष्पक्ष र पारदर्शी तवरले बढुवा समितले मूल्यांकन गरिरहेको बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जुनियर अधिकृतबाट सिनियर अधिकृतका रुपमा रुपान्तरण हुँदा जिम्मेवारी पनि स्वतः बृद्धि हुने र सोको मर्यादा र गरिमा राखेर आगामी दिनहरुमा थप उत्प्रेरित भएर उच्च मनोबल र हौसालाका साथ कार्य गर्न समेत निर्देशन दिए ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत एवं बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।