जनकपुरधाम । धनुषाको ईनर्वामा सशस्त्र प्रहरी बिओपीको नयाँ भवन निर्माण भएको छ । निर्माण भएको नयाँ भवनको मंगलबार उद्घाटन गरिएको हो ।
मधेश प्रदेशका सशस्त्र प्रहरी डिआईजी गणेश ठाडा मगर र जनकनन्दनी गाउँपालिका अध्यक्ष दिपिन देव यादवले मंगलबार संयुक्त रुपमा सशस्त्र प्रहरीको नयाँ भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै डिआईजी मगरले सिमावर्ती क्षेत्रमा हुने अपराधिक गतिविधि रोक्न बिओपीको मुख्य भूमिका रहने भएकाले चुस्तदुरुस्त रुपमा काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिए ।
बर्षौदेखि इनर्वा बोर्डरमा एक मात्र रेल्वे भवन हुँदा सुरक्षाको दृष्टि र भन्सार व्यवस्थापनको लागि समस्या हुँदै आएकोमा नयाँ भवन सुविधा सम्पन्न निर्माण गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए ।
भवनमा चिस्यान, अन्न भण्डार, शौचालय, किचेन, जवान बस्ने क्वार्टर रहेको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बल धनुषाका एसपी प्रकाश सुबेदी, महोत्तरीका एसपी लेखनाथ खनाल, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरे, सहायक प्रमुख जिल्ला अधिकारी अनुज भणडारी, सशस्त्र प्रहरी निरीक्षक दिपक कोइरालासहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।