काठमाडौं । गृह मन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम, २६ जुन २०२२ राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा आइतबार सम्पन्न भएको छ ।
गृह मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रमको सुरुमा गृह मन्त्रालय तथा विभिन्न मन्त्रालयहरु, सुरक्षा निकायहरु, काठमाडौं ललितपुर भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा लागूऔषध सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट, झाँकी सहितको प्रभातफेरि र्याली भृकुटीमण्डप, टुँडिखेल, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा आएर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा गृह मन्त्री खाणले लागूऔषधसँग सम्बन्धित लेखरचना समेटिएको ‘सुरक्षित जीवन’ नामक जर्नलको विमोचन गर्नुका साथै नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरो, नेपाल प्रहरी सङ्गीत विद्यालय तथा आसरा सुधार केन्द्र लगायत अन्य उत्कृष्ट उपचार तथा पुनर्स्थापना केन्द्रहरु र दिवसलाई सफल पार्न सहयोग गर्ने विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृह मन्त्री खाणले लागूऔषधको अवैध उत्पादन, ओसारपसार, विक्री वितरण, संचय, प्रयोग र दुरुपयोगलाई विश्वव्यापी चुनौतीका माझ समयमै रोकथाम र नियन्त्रणका लागि सबैलाई हातेमालो गर्न आह्वान गरे । साथै उनले सीमित स्रोतका बावजुद लागू औषध नियन्त्रण व्यूरोले ठूलाठूला अपरेशन चलाएर प्रशंसनीय ढंगले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको उल्लेख गर्दै लागूऔषध दुरुपयोगको कारण उत्पन्न हुने जोखिम नियन्त्रणका लागि नेपाल सरकार र सुरक्षा निकायले अझ प्राथमिकतासाथ ध्यान दिनुपर्ने बताए ।
उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै गृह सचिव टेकनारायण पाण्डेले लागूऔषध नियन्त्रणका लागि सरोकारवाला निकायहरुका साथै विभिन्न संघसंस्था, नागरिक समाजसँग समन्वय गरी संगठित रुपमा काम गर्नुपर्ने बताए । नेपाल प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उनले चर्चा गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले लागूऔषधको समस्यालाई निर्मूल पार्नका लागि नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहसँग समन्वय गरी लागूऔषधसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उल्लेख गरे । दुर्व्यसनमुक्त समाज निर्माणका लागि सम्बद्ध सबै निकायहरु हातेमालो गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
साथै एफडिडिआरको तर्फबाट प्रशान्त शर्मा र रिकभरिङ नेपालको तर्फबाट विष्णु फुँयालले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै लागूऔषध नियन्त्रणमा नेपाल सरकार र सम्वद्ध सबै निकाय एवम् संघसंस्थाबीच हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।
मुख्य औषध नियन्त्रण अधिकारी डा.भीष्मकुमार भूसालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश सहित स्वागत मन्तव्य व्यक्त गरेका उक्त कार्यक्रममा गृहमन्त्रालय लागू औषध नियन्त्रण शाखाका प्रमुख गोकर्णप्रसाद उपाध्यायले शाखाको संक्षिप्त वार्षिक गतिविधि प्रस्तुत गर्नुका साथै उत्कृष्ट ५ नारा वाचन गरेका थिए ।
‘मानवीय, स्वास्थ्य संकटको बेला झन्, लागूऔषध चुनौतीको गरौं सम्बोधन’ भन्ने मूल नाराकासाथ सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरीको टोलीले सङ्गीत प्रस्तुती गरेको थियो भने लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रदर्शनी गरिएको थियो ।
गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृहमन्त्रालयका महाशाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु, विद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।