चितवन । गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बल नेपाल विपद् वस्थापन तालिम शिक्षालय करिन्टारमा संचालित सि.सं. २ गोताखोर तालिमको शनिबार एक समारोहका बीच समापन गरेका छन् ।
सोही अवसरमा गृहमन्त्री खाँणले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान शिव कोलीलाई पुरस्कार प्रदान गरेका थिए ।
गृहमन्त्री खाणले तालिम सफलता पूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका गोताखोरहरुलाई बधाई दिंदै सशस्त्र प्रहरीले पानिजन्य विपद् उद्वारका लागि तयार गरेको जनशक्ति तथा अन्य विपद् उद्वार कार्य प्रशंसनिय रहेको बताए ।
उनले विपद् व्यवस्थापनका लागि आवश्यक श्रोतसाधन, तालिम र सेवा सुविधा बढाउन गृहमन्त्रालय सकारात्मक रहेको चर्चा गर्दै विपद्को समयमा पूर्व तयारी र विपद् पछि खोजी र उद्वारका लागि सशस्त्र प्रहरीलाई सदैव तयारी हालतमा रहन निर्देशन दिए ।
गृहमन्त्री खाणले विपद् जोखिम न्यूनिकरणको लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताउदै यस्ता कार्यको लागि नेपाल सरकार तथा गृहमन्त्रालयको तर्फबाट निरन्तर सहयोग र सहजिकरण गरिने उल्लेख गरे ।
उनले गोताखोर जस्तो जोखिमयुक्त तालिम गराउनको लागि सहयोग पुर्याउने दातृनिकाय, विदेशी प्रशिक्षक, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सरोकारवाला निकायहरुप्रति हार्दिक आभार प्रकट गरे ।
त्यस्तै उक्त समारोहमा गृहमन्त्री खाणले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तर्फबाट उपलब्ध गराईएको ९७ लाख रुपैयाँ बराबरको विभिन्न विपद् उद्वार सामाग्री समेत हस्तान्तरण गरेका छन् ।
सो समारोहमा राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहट्ठा, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, धादिङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर लम्साल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा नेपाल प्रहरीका जिल्लास्थित प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।