गणेश मौनी / डोटी । ‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’ को प्रतियोगितामा नेपाली सेनाका भवानी बक्स गण अछाममा कार्यरत अमलदार सुशील कुमार शाही प्रथम भएका छन् ।
श्री नम्बर ५ बाहिनी अड्डा राजपुर,डोटी उद्योग बाणिज्य संघ, भैरव प्रसाद गण सिलगढीको सयुक्त आयोजनामा सम्पन्न म्याराथनमा ४१ जना प्रतिशपर्धी लाई पछि पार्दै शाही प्रथम भएका हुन् ।
शनिबार बिहान खप्तडको त्रिवेणी मन्दिरबाट सुरु भएको म्याराथन प्रतियोगितामा शाही २ घण्टा १८ मिनेट ३१ सेकेन्डमा डौडको अन्तीम प्वाईन्ट शैलेश्वरी मन्दिर सिलगढी पुग्दै प्रथम भएका थिए । त्यस्तै रणवम गण डडेल्धुराका सिपाही नरेश सिंह बोहरा २ घण्टा ३० मिनेट ५७ सेकेन्ड पार गर्दै द्वितीय भएका छन् । भने रणवम गण डडेल्धुराका सिपाही राम सिंह पाल २ घण्टा ३२ मिनेट ४३ सेकेन्ड पार गर्दै तेस्रो भएका थिए ।
प्रतियोगितामा मेल्लेक गाउँपालिका ५ का सिभिल धावक सागर धामी २ घण्टा ३५ मिनेट ४० सेकेन्डमा पार गर्दै चौथो भएका छन् । त्यस्तै त्रिवेणी नगरपालिका बाजुरा घर भएका सागर सार्कीले २ घण्टा ४४ मिनेट ५ सेकेन्डमा पार गर्दै पाँचौ भएका छन् ।
त्यस्तै भवानी बक्स गण अछामका सिपाही मोती बिक छैटौं, गुरु गोरख गुल्म दार्चुला सिपाही दिपेन्द्र महत सातौं, सिंह सार्दुल गुल्म खप्तडका लोकबहादुर बुढा र धन सिंह दोवाल आठौं र नवौं स्थान हासिल गर्न सफल रहेका थिए भने दशौं स्थानमा कैलालीका उमेश मगर आएका थिए ।
भु-स्वर्गका नामले चर्चित रहेको खप्तड राष्ट्रिय निकुञ्ज देखि डोटी जिल्लाको प्रसिद्ध शैलेश्वरी मन्दिर सम्म ३२ किलोमिटरको म्याराथन प्रतियोगितामा ४२ जना धावकहरुको सहभागिता रहको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए । जसमा २१ जना पश्चिम हेड क्वाटर अन्र्तगतका गुल्म र गणहरुबाट सहभागि रहेका थिए भने २१ जना सिभिल धावकहरु रहेका थिए । खप्तड क्षेत्रको अपार पर्यटकीय सम्भावनालाई प्रचार प्रसार गर्नुका साथै बिकास र प्रवद्र्धक गर्न सहयोग पुगोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको समेत प्रमुख सेनानी कार्किले बताए ।
खप्तड क्षेत्रमा पुग्दा साच्चै भु-स्वर्गमा प्रवेश गरेको जस्तो आभास भएको श्री नम्बर ५ बाहीनी अड्डाका बाहीनीपती सहायक रथि मान बहादुर महराले बताए । उनले भने खप्तड क्षेत्र प्रचुर सम्भावना भएको क्षेत्र हो खप्तडलाई योग र ध्यानको केन्द्रको रुपमा बिकास र प्रचार प्रसार गरी आन्तरीक तथा बाह्य पर्यटकहरुलाई बढाउनुपर्छ । यस पटकको यात्रामा खप्तडमा भएको योग शिबीर लाई नमुना कार्यको रुपमा लिन सकीने समेत बताए ।
यस वर्ष जसरी नेपाल आर्मिले निजी क्षेत्र उद्योग बाणिज्य संग सहकार्य गरेर एउटा कार्यक्रमको आयोजना गरेको छ आगामी वर्षहरुमा पनि यस्ता खालका खप्तडको प्रचार प्रसार र प्रवद्र्धन हुने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने समेत सहायक रथि महराले बताए ।
खप्तडको धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्व दर्शाउने हेतुले आयोजना गरेको म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख, दितृय हुनेलाई ७५ हजार, तृतिय हुनेलाई ५० हजार पुरस्कार तथा प्रमाण पत्र उपलब्ध गराईएको डोटी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खेम भण्डारीले बताए । त्यस्तै ५ जनालाई १० हजारका दरले सान्त्वना पुरस्कार र अन्य म्याराथन प्रतियोगितामा सहभागिहरुलाई प्रोत्साहन स्वरुप जनही ३ हजारका दरले पुरस्कार र प्रमाण पत्र बितरण गरिएको उपाध्यक्ष भण्डारीले बताए ।
प्रतियोगिताको समापत तथा पुरस्कार बितरण कार्यक्रम डोटी जिल्लाको जिल्ला सदरमुकाम सिलगढीमा भएको थियो । कार्यक्रममा पश्चिम कमान्ड हेड क्वाटरका कमाण्ड सेनापति उपरथी प्रेम शाहि, नम्बर ५ बाहीनी अड्डाका बाहीनीपती सहायकरथी मान बहादुर महरा, जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण सिंह, स्थानीय तहका प्रमुख, उपप्रमुख, डोटीका प्रमुख जिल्ला अधिकारी, राजनितीक दल, पश्चिम कमाण्ड अन्र्तगत विभिन्न गण र गुल्मका प्रमुखहरु, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।
४ स र १ प को अबधारणाबाट सफल भयौ कमाण्ड सेनापती: शाही
पश्चिम कमान्ड हेड क्वाटरका कमाण्ड सेनापति उपरथी प्रेम शाहीले ४ स र १ पको अवधारणाका आधारमा खप्तडमा भब्य र सभ्य कार्यक्रमको आयोजना गरी कार्यक्रम सफल भएको बताएका छन् ।
‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’ को प्रतियोगिताको समापन सत्रमा बोल्दै उपरथि शाहीले बाह्य तथा आन्तरीक पर्यटकहरुलाई खप्तडमा सुन्दर प्रकृतिको अबलोकन गरि आनन्द लिन, खप्तडमा योग साधना गर्न, खप्तडको प्रवद्र्धनको लागि विभिन्न ब्यक्ती तथा निकाएसंग समन्वय गर्न, खप्तडमा सु स्वाथ्यको अनुभुती गरी पर्यटकीय सम्भावनाको खोज गर्ने अबधारणा अनुरुप कार्यक्रम आयोजना गरी सफल भएको बताए ।
खप्तड साच्चीकै सुदुरपश्चिम प्रदेशको बहुमुल्य गहना हो यो अत्यन्त सुन्दर, रमणीय र आनन्दमय छ यस क्षेत्रको बिकास प्रवद्र्धन, प्रचार प्रसार गर्न सबै एकजुट भएर लाग्नु पर्ने उनले बताए । नेपाली सेनाले आगामी दिनमा पनि पर्यटकीय क्षेत्रको बिकास प्रवद्र्धन यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिने समेत उपरथि शाहीले बताए ।
गंगादशहरको मेलाको अवसरमा खप्तडमा आयोजित अन्य भलिबल प्रतियोगिता, डेउडा प्रतियोगिता खप्तडदेखी झिग्राना सम्म आयोजना गरेको रन फर फनको कार्यक्रममा उपरथी शाही पनि सहभागि रहेका थिए ।