गणेश मौनी । गङ्गादशहरा मेलाका अवसरमा नेपाली सेना र उद्योग बाणिज्य संघले डोटीमा ‘‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन प्रतियोगिता २०७९’’ को आयोजना गर्ने भएको छ ।
आइतबार दिपायलमा नेपाली सेना श्री नम्बर ५ बाहिनी राजपुर, भैरब प्रसाद गण सिलगढी र डोटी उद्योग बाणिज्य संघले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रम सार्वजनिक गरेको छ ।
जेठ २४ गतेदेखि २८ गतेसम्म हुने कार्यक्रममा खप्तड शैलेश्वरी म्याराथन, भलिबल प्रतियोगिता, रन फर फन, योग शिबीरका साथै डेउडा प्रतियोगिताको आयोजना गरिने समेत आयोजकले जानकारी दिएको छ ।
खप्तडमा आन्तरीक तथा बाह्य पर्यटक प्रवर्धन गर्नका साथै नागरिक र सैनिक बिचको सम्बन्ध सुदृढ गर्ने हेतुले विभिन्न कार्यक्रमहरुको आयोजना गर्न लागिएको भैरव प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत कार्किले बताए । उनले भने खप्तड क्षेत्रको प्रचार प्रसार र प्रबद्र्धनका लागि पहीलो पटक म्याराथन हुदैछ यसलाई सबैले सहयोग गर्नुपर्ने बताए । खप्तडमा मेला अबधीभर नेपाली सेना द्धारा स्वास्थ्य शिबीरको आयोजना गरिने समेत कार्किले बताए ।
नेपाली सेना र उद्योगबाणिज्य संघको संयुक्त आयोजनमा हुन गईरहेको खप्तड सिलगढी म्याराथन प्रतियोगिता नयाँ र बृहत कार्यक्रम रहेको उद्योग बाणिज्य संघ डोटीका बरीष्ठ उपाध्यक्ष खेम भण्डारीले बताए । उनले भने खप्तड सुदुरपश्चिमको मात्र नभई नेपालको धार्मिक तथा पर्यटकीय स्थलहो यसको प्रचार प्रसार र विकासमा सबैको भुमिका महत्वपूर्ण हुने बताए । उद्योग बाणिज्य संघले खप्तडको विकास र प्रवर्धनका लागि बिगतका वर्षहरुमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको उद्योग बाणिज्य संघ डोटीका पूर्वअध्यक्ष नरेन्द्र खड्काले बताए ।
खप्तडको त्रिवेणी देखि सिलगढीको शैलेश्वरी मन्दिर सम्म ३२ किलोमीटरको म्याराथनमा ४० जना धावकहरू सहभागी हुने भएका छन् । जसमा २० जना नेपाली सेनाका धावकहरू रहेका छन् भने २० जना अन्य सिभिल धावकहरू रहने छन् । ती सिभिल धावकहरू सुदूरपश्चिमका नौ वटै जिल्लाबाट २-२ जनाका दरले १८ जना र २ जना मध्यवर्ती क्षेत्र विकास समितिबाट सहभागि हुने भएका छन् । त्यस्तै कार्यक्रममा रन फर फन म्याराथन पनि रहेको छ । उक्त म्याराथन खप्तडको त्रिवेणी देखि झिग्राानासम्म तोकिएको छ । उक्त म्याराथनको दुरी १६ किमी रहेको छ भने उक्त म्याराथनमा जोकोहीले पनि सहभागिता जनाउन पाउने छन् ।
विभिन्न प्रतियोगिताका प्रतियोगिहरुलाई उद्योग बाणिज्य संघ डोटीले नगद पुरस्कारको ब्यवस्था गरेको छ भने सहभागिहरुको सम्पूर्ण खाने बस्नको ब्यवस्था नेपाली सेनाले गर्ने भनिएको छ ।
प्रतियोगिता अन्र्तरगत म्याराथन प्रतियोगिताका प्रतियोगिमध्य प्रथम लाई १ लाख, दोस्रो लाई ७५ हजार, तेस्रोलाई ५० हजार पुरस्कारको ब्यवस्था रहेको छ , त्यस्तै भलिबल खेलका प्रतियोगिलाई प्रथमलाई प्रथम लाई ५० हजार, दोस्रो लाई २५ हजार, तेस्रो लाई १५ हजार पुरस्कारको ब्यवस्था रहेको छ भने डेउडा गितका प्रतियोगि लाई प्रथमलाई २५ हजार, दोस्रो लाई १५ हजार, तेस्रोलाई १० हजार पुरस्कारको ब्यवस्था रहेको छ । सम्पूर्ण खेलका प्रतियोगिलाई टिसर्ट, टोपीको ब्यवस्था रहेको समेत आयोजकले जानकारी दिएको छ ।
सार्वजनिक कार्यतालिका अनुसार भलिबल खेल र डेउडा खेलका प्रतियोगिहरुले जेठ २४ गते खप्तडमा आयोजकलाई नाम दता गराईसक्नु पर्ने छ भने २५ र २६ गते भलिबल प्रतियोगिता हुने २७ गते देउडा प्रतियोगिता हुने रहेको छ भने म्याराथन प्रतियोगिहरुका लागि जेठ २५ गते सिलगढी स्थित भैरब प्रसाद गणमा स्वास्थ्य परिक्षण गरिने, २६ गते खप्तड जाने, २७ गते योग शिबीरहुने, २८ गते दौड सुरु भई सिलगढी स्थित टुडीखेलमा समापन गरिने आयोजकले जानकारी दिएको छ ।
उक्त प्रतियोगितामा नेपाली सेनाका प्रधान सेनापती महारथी प्रभुराम शर्मा, नेपाली सेनाका पश्चीम कमाण्ड सेनापती उपरथि प्रेम शाही सुदुरपश्चिमका विभिन्न जिल्लाका विशिष्ठ ब्यक्तिहरु पनि सहभागि हुने भएका छन् । उक्त खेलकुद प्रतियोगिताको लागि १५ लाख बराबरको बजेट प्रस्ताव गरिएको छ ।