काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्त कुमार लामा अनिवार्य अवकाशमा गएका छन् ।
लामाले एआईजीको ५६ वर्षे उमेर हदका कारण शुक्रबार मध्यरातदेखि अनिवार्य अवकाश पाएका हुन् । लामाको अवकाशसंगै नेपाल प्रहरी पाँच एआईजी दरबन्दी रिक्त भएको छ ।
गृहमन्त्रालयसम्बद्ध उच्च स्रोतका अनुसार नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने तयारी गरिएको छ ।
रिक्त पाँच एआईजी पदमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गर्ने तयारी छ । डीआईजीद्वय सुवेदी र बिसि २०७७ बैशाख ७ मा अनि डीआईजीद्वय लोहनी र आचार्य २०७७ पुस २० मा डीआईजीमा बढुवा भएका थिए ।
हालका आईजीपी धिरजप्रताप सिंहसंगै २०४९ चैत ११ मा प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका उनिहरुमध्ये सुवेदी, बिसि र लोहनी काबिल प्रहरी अधिकृतको रुपमा परिचित छन् ।
हाल डीआईजी सुवेदी उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निमित्त प्रमुख, बिसि एक नम्बर प्रदेश प्रहरी प्रमुख, लोहनी गण्डकी प्रदेश प्रहरी प्रमुख, आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको निमित्त कार्यकारी निर्देशक र सिंह बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।