काठमाडौं । मन्त्रीपरिषदको गत मंगलबारको बैठकको निर्णयसंगै नेपाल प्रहरीमा दुई सय एक नयाँ युनिट स्थापना हुने भएको छ । मन्त्री परिषदले तीन हजार पाँच सय ९६ दरबन्दी थप गरेसँगै नयाँ कार्यालय स्थापनाको तयारी गरिएको छ। गत मंगलबार (असोज७) को मन्त्रिपरिषद् बैठकले प्रहरीको नयाँ दरबन्दी स्वीकृत गरेसंगै सबै स्थानीय तहका केन्द्रमा प्रहरी कार्यालय स्थापना हुने गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।
थपिएको नयाँ दरबन्दीबाट एक सय सतासी वटा प्रहरी चौकी र चौध वटा ट्राफिक प्रहरी बिट स्थापना हुनेछ भने आठवटा प्रहरी चौकीको स्तरोन्नति हुनेछ। सबै स्थानीय तहमा यसअघि नै प्रहरी युनिट पुगिसकेको भएतापनि स्थानीय तहको केन्द्रमा प्रहरी युनिट नहुँदा बैंकको शाखा स्थापना लगायतका कामका लागि समस्या पर्दै आएको थियो । स्थानीय निकायबाट भएको मागको आधारमा प्रहरी प्रधान कार्यालयले ओएण्डएम सर्भे गरेर दरबन्दी दरबन्दी थपको लागि गृहमन्त्रालयमा प्रस्ताव पठाएको थियो। प्रहरी प्रधान कार्यालयको प्रस्तावलाई गृहले मन्त्रीपरिषदमा पेश गरेपछि दरबन्दी थपको निर्णय भएको हो। नयाँ दरबन्दी थप भएसँगै प्रहरीको जनशक्ति ७९ हजार पाँच सय २३ पुगेको छ ।
गृहमन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद बैठकले जनपद समुहतर्फ दुई र प्राविधिक (प्रहरी संगीत बिद्यालय) तर्फ एक एसएसपीको दरबन्दी थप गरेको हो। जनपदतर्फ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा र प्रहरी प्रधान कार्यालयको समुदाय प्रहरी साझेदारी कार्यक्रमको लागि एसएसपीको दरबन्दी स्वीकृत भएको स्रोतले बतायो।
दरबन्दी थपिएसंगै संगीत बिद्यालयका एसपी राजेन्द्र गुरुङ एसएसपीमा बढुवा हुने भएका छन्। त्यस्तै जनपद समुहतर्फ दुई एसएसपीको दरबन्दी थपिएपछि रिक्त एसएसपीको पद चार पुगेको छ। एसएसपी बिश्वराज पोखरेलको डिआईजीमा बढुवा भएपछी रिक्त एक र एसएसपी शरदकुमार खत्रीले अवकास पाएपछि रिक्त एक समेत जोड्दा दुई एसएसपीको पद रिक्त थियो।
थपिएको चार प्रहरी उपरीक्षक (एसपी) मध्ये दुई जनपद समुहतर्फ हो भने दुई प्राविधिक (सिभिल इन्जिनियरिङ) तर्फको हो। जनपद र प्राविधिक गरि एक्काईस प्रहरी नायब उपरीक्षक (डिएसपी), ४७ प्रहरी निरीक्षक (इन्स्पेक्टर), ८६ प्रहरी नायब निरीक्षक (सई), दुई सय सन्तानब्बे प्रहरी सहायक निरीक्षक (असई), ६ सय ८३ प्रहरी हवल्दार, दुई हजार दुई सय सोह्र प्रहरी जवान र दुई सय उन्चालीस प्रहरी कार्यालय सहयोगीको दरबन्दी थपिएको छ।
दरबन्दी थप भएसंगै गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले बढुवाको प्रक्रिया अगाडी बढाउने तयारी थालेको उच्च स्रोतको दावी छ। 'अब छिट्टै बढुवाको प्रक्रिया शुरु हुन्छ।' गृहका एक उच्च अधिकारीले भने।