काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपालको इष्टदेवी बगलामुखीमाईको पुजा अर्चना गरी पशुपतिनाथ मन्दिरमा दर्शन पश्चात सोमबारनै पदवहाली गरेका छन् ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकस्थित अमर सशस्त्र प्रहरी स्मारकमा रिथ अर्पण गरे । त्यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सम्मानमा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले सम्मान गारद सलामी अर्पण गरेको थियो ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा, मिशन लगायतका कार्यहरु बैज्ञानीक र पारदर्शी ढंगले अगाडी बढाउने बताउदै संगठनको विकास र विस्तारमा समेत विशेष ध्यान पुर्याईने बताए ।
उनले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा परिचालित रहँदा फौजी संस्कारको बर्खिलाप तथा कुनै पनि आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाईएमा त्यस्ता कर्मचारीहरुलाई कुनै पनि हालतमा नछाडीने बताउदै कमाण्डर तहका अधिकृतहरुलाई कार्ययोजनाका साथ मातहत कर्मचारीहरुलाई उच्च मोरालमा राखी परिचालित गरि नियमित अनुगमन गर्न समेत निर्देशन दिए ।
महानिरीक्षक अर्यालले व्यक्तिगत स्वार्थलाई थाती राखी राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु एकजुट भई सामुहिक भावनकासाथ लाग्नुपर्ने बताउदै संगठनबाट के लिन सक्छु भन्दा पनि संगठनलाई के दिनसक्छु भन्ने भावनाकासाथ व्यावसायिक भई कार्यसम्पादनमा लाग्न निर्देशन समेत दिए ।
उनले वान जनरल वान कन्सेफ्टको नीति लागू गरी संगठनलाई अगाडी बढाईने उल्लेख गर्दै सशस्त्र प्रहरी कर्मचारीहरुको हितका लागि मौजुदा कल्याणकारी कार्यहरुलाई समेत समय सापेक्ष परिमार्जन गर्दै बृहत हितका लागि योजनाकासाथ काम गर्ने बताए ।
महानिरीक्षक अर्यालले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताउदै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा खटिदा सभ्य र अनुशासित भई जिम्मेवारी निर्वाहमा क्रियाशिल रहन निर्देशन दिए ।
सो समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।